सरुमारानीको हंसपुरमा बुटिक तालिम उद्घाटन

प्युठान,प्युठान जिल्लाको सरुमारानी गाउँपालिका-३ हंसपुरमा महिलाहरूको जीवनशैली र आर्थिक अवस्थालाई रूपान्तरण गर्ने उद्देश्यसहित बुटिक सम्बन्धी एड्भान्स सीप विकास तालिम सुरु गरिएको छ।सरुमारानी गाउँपालिकाको आयोजनामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत सञ्चालन गरिएको उक्त तालिम सोमबार एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरिएको हो।
यस तालिममा गत वर्ष बुटिकसम्बन्धी आधारभूत सीप विकास तालिम प्राप्त गरिसकेका महिलाहरूलाई सहभागी गराइएको छ। आधारभूत सीप बिकास तालिमबाट सिकेका सीपलाई अझ परिस्कृत गर्दै व्यावसायिक रूपमा प्रयोग गर्न सक्ने अवस्था सिर्जना गर्ने उद्देश्यले एड्भान्स तालिम सञ्चालन गरिएको उद्यम बिकास सहजकर्ता सिता बि.क ले जानकारी दिनुभयो।उहाँका अनुसार तालिमपछि सहभागी महिलाहरूले आफ्नै गाउँ–समुदायमै बुटिक सञ्चालन गरी स्वरोजगार बन्न सक्ने अपेक्षा रहेको छ।
तालिम उद्घाटन कार्यक्रम सरुमारानी गाउँपालिका कार्यपालिका सदस्य आशा बि.क.को अध्यक्षतामा सम्पन्न भएको थियो।कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष आशा बि.क.ले यस्ता किसिमका सीप विकास तालिमहरू महिलाहरूको आर्थिक सशक्तीकरणसँगै सामाजिक रूपान्तरणका लागि अपरिहार्य रहेको बताउनुभयो। उहाँले महिलाहरूमा रहेका सीप, ज्ञान र क्षमतालाई व्यवहारिक रूपमा उपयोग गर्न सकिने वातावरण निर्माण गर्नु आजको आवश्यकता भएको उल्लेख गर्नुभयो।उहाँका अनुसार,सीपमा आधारित उद्यमशीलताले महिलाहरूलाई परनिर्भर अवस्थाबाट बाहिर ल्याउँदै आफ्नै श्रम र सीपमार्फत आम्दानी गर्ने अवसर प्रदान गर्दछ। यसले महिलाहरूको आत्मसम्मान र आत्मविश्वास बढाउने मात्र नभई परिवार तथा समाजका निर्णय प्रक्रियामा उनीहरूको भूमिकालाई समेत मजबुत बनाउने उहाँको भनाइ थियो। महिलाहरू आर्थिक रूपमा सक्षम हुँदा परिवारको जीवनस्तर सुधार हुनुका साथै समुदायको समग्र विकासमा समेत सकारात्मक प्रभाव पर्ने उहाँले जोड दिनुभयो।
स्थानीय तहको सक्रिय पहलमा सुरु गरिएको यस तालिमले हंसपुरका महिलाहरूलाई उद्यमशीलतामार्फत आत्मनिर्भर बनाउने विश्वास लिइएको छ। सहभागी महिलाहरूले तालिमपछि आफ्नै व्यवसाय सुरु गरी आम्दानीका नयाँ सम्भावना खोज्ने आशा व्यक्त गरेका छन्।