दुना टपरी : स्थानीय सीप र स्रोतमा आधारित व्यवहारिक शिक्षाको उत्कृष्ट अभ्यास

दुना टपरी : स्थानीय सीप र स्रोतमा आधारित व्यवहारिक शिक्षाको उत्कृष्ट अभ्यास

राम बहादुर बिश्वकर्मा
प्युठान,स्थानीय पाठ्यक्रम अन्तर्गत मरन्ठाना मजुवास्थित बालबिद्या माध्यमिक विद्यालयका कक्षा ८ का विद्यार्थीहरूले स्थानीय स्रोत र परम्परागत सीपको प्रयोग गर्दै दुना–टपरी निर्माण सम्बन्धी प्रयोगात्मक कार्य सफलतापूर्वक सम्पन्न गरेका छन्।
सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक अभ्यासलाई जोड दिँदै स्थानीय संस्कृति,सीप र स्वावलम्बनमा आधारित उक्त सामाग्री तयार गरि प्रदर्शन गरेका हुन।

तस्वीर :स्थानीय पाठ्यक्रममा आधारित दुना-टपरी निर्माण गर्दै बाल बिद्या माध्यमिक बिध्यालय मरन्ठाना मजुवामा अध्ययनरत कक्षा ८ का बिध्यार्थिहरु


यस कार्यक्रमले विद्यार्थीहरूमा सिर्जनात्मकता,आत्मनिर्भरता र वातावरण प्रेमी सोचको विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताइएको छ।
"दुना–टपरीले हाम्रो परम्परा पहिचान,संस्कृति र प्रकृतिसँगको सम्बन्ध जोगाइरहेको बिध्यालयका प्र.अ केशु गिरीले बताउनुभयो।
"विद्यार्थीहरूलाई यस्ता सीपमा प्रशिक्षित गर्नु भनेको उनीहरूलाई आत्मनिर्भर,सिर्जनशील र संस्कारयुक्त बनाउनु हो। उहाँले भन्नुभयो,दुना–टपरीको संरक्षण आजको आवश्यकता हो र यस्ता सीप तथा सामाग्रीलाई जोगाइ राख्नु हामी सबैको दायित्व हो।"उहाँका अनुसार प्लास्टिकजन्य वस्तुले वातावरणमा नकारात्मक असर पारिरहेका बेला यस्ता जैविक र पुनःप्रयोग योग्य सामग्रीहरूको संरक्षण र प्रवर्द्धन अझ आवश्यक भएको छ।
परम्परागत रूपमा प्रयोग हुँदै आएको दुना–टपरी जस्ता जैविक सामग्रीको संरक्षण र प्रवर्द्धनमा विद्यालयको सक्रियता अत्यन्त सराहनीय भएको बुढापाका बताउँछन।यस गतिविधिले शिक्षा प्रणालीमा स्थानीयता,संस्कृति र वातावरणीय सचेतनाको समावेश कत्तिको प्रभावकारी हुन सक्छ भन्ने सन्देश दिएको जानकारहरुको भनाई छ।
विद्यार्थीहरूले आफ्नै हातले बनाएको दुना–टपरी विद्यालयको आन्तरिक प्रदर्शनीमा प्रदर्शन गरिएको थियो।