सीता बि.क
प्युठान,नेपाल निजामती कर्मचारी संगठन जिल्ला समिति प्युठानले आफ्नो ३५ औं स्थापना दिवस मनाएको छ। संगठनले आइतबार क्यालेन्डर विमोचन गर्दै स्थापना दिवस मनाएको हो ।
नेपाल निजामती कर्मचारी संगठन प्युठानका अध्यक्ष राम बहादुर बस्नेतको अध्यक्षता एवं लुम्बिनी प्रदेशसभा सदस्य तुल्सिराम शर्माको प्रमुख आतिथ्यतमा भएको क्यालेन्डर बिमोचन कार्यक्रममा बोल्ने वक्ताहरुले कर्मचारीहरुले नागरिक सेवालाई थप सहज र प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको थियो।
संघीयता कार्यान्वयनसँगै अधिकार र सेवा विकेन्द्रित भएको अवस्थामा नागरिकले पाउने सेवालाई थप प्रभावकारी बनाउन कर्मचारीको भूमिका महत्वपूर्ण हुने उहाँहरुको जोड थियो । लामो इतिहास भएको नेपाल निजामति कर्मचारी संगठनमा आवद्ध कर्मचारीको देशका हरेक परिवर्तनमा महत्वपूर्ण भूमिका रहेको चर्चा गर्दै वक्ताहरुले जनताले अनुभुत हुनेगरी सहज सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो।
कर्मचारीहरुले बदलिदो परिस्थितिमा कर्मचारी कहाँ पुग्ने र कसरी काम गर्ने भन्ने विषयमा अन्यौलता सिर्जना भएको भन्दै पेशागत अधिकारका लागि पनि एकजुट हुनुपर्नेमा जोड दिनुभयो।
त्यस्तै निजामती कर्मचारी संगठन प्युठानले प्रकाशन गरेको विं.सं. २०८२ सालको क्यालेन्डरको विमोचन गर्दै प्रमुख अतिथि तुल्सिराम शर्माले हरेक बैशाख ७ गते संगठनले आफ्नो स्थापना दिवस मनाउँदै आएको बताउनुभयो । लामो इतिहास भएको नेपाल निजामती कर्मचारी संगठनमा आबद्ध कर्मचारीको देशका हरेक परिवर्तनमा महत्वपूर्ण भूमिका रहेको चर्चा गर्दै जनताले अनुभूत हुने गरी सहज सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो ।
अहिलेसम्मका आन्दोलन र त्यसबाट प्राप्त उपलब्धिको रक्षा गर्न कर्मचारीलगायत सबै एकजुट हुनुपर्ने उहाँको भनाई छ।
त्यस्तै नौबहिनी गाउँपालिकाका अध्यक्ष दिल बहादुर थापाले नेपालको निजामती क्षेत्रको पहिलो,ठूलो,शक्तिशाली ट्रेड युनियनको रूपमा स्थापित संस्था नेपाल निजामती कर्मचारी संगठन भएको बताउनुभयो।नेपालमा बहुदलीय व्यवस्थाको स्थापनासँगै पेसाकर्मीहरूको हक,हित,अधिकारको रक्षा र प्रजातन्त्रको सुदृढीकरणका खातिर बि.स. २०४७ वैशाख ७ गते स्थापना भएको उक्त सङ्गठनले नेपालमा लोकतन्त्रको रक्षा,बिधीको शासन,कानुनी राज्य निर्माण तथा पारदर्शी र सुशासन मैत्री प्रशासनका क्षेत्रमा महत्वपुर्ण भुमिका खेल्दै आएको उहाँको भनाई छ।
सो अवसरमा नेपाल कर्मचारी संगठन लुम्बिनी प्रदेशका उपाध्यक्ष टुक बहादुर रोकाले कर्मचारीहरुका पेशागत अधिकार कुण्ठित गर्ने काम कसैबाट हुन नहुने बताउनुभयो।
त्यस्तै नेकपा एमाले प्युठानका उपाध्यक्ष माधव पौडेलले कर्मचारीहरुले नागरिकमैत्री सेवा प्रवाहमा ध्यान दिन आग्रह गर्नुभयो।सो अवसरमा नेकपा एमाले प्युठानका सचिब इन्द्रमणी पोख्रेल,नेकपा प्युठान नगरकमिटी अध्यक्ष गिरु प्रसाद भण्डारी,प्रेस चौतारी नेपाल जिल्ला शाखा प्युठानका अध्यक्ष बासुदेव गिरी लगायतले बोल्नुभएको थियो।
नेपाल निजामती कर्मचारी सङ्गठन अनेकन पेशाकर्मीहरूको अमिट आस्थाको संगठन मात्र नभएर नेकपा एमाले पार्टी संग आबद्द जन वर्गीय संगठन मध्ये एक ससक्त घटक संगठन रहेको बताइएको छ।
संगठनका उपाध्यक्ष सागर पण्डितले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन सचिव बसन्त पोख्रेलले गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्