मुलुकको परिवर्तन एमालेबाट मात्र संभव छ : अध्यक्ष भुसाल

शोभाखर पन्थी
अर्घाखाँची,नेकपा एमालेका जिल्ला अध्यक्ष पीताम्बर भुसालले उच्च मनोबलका साथ पार्टी काममा जुट्न कार्यकर्तालाई आग्रह गर्नु भएको छ । नेकपा एमाले द्वारा छत्रदेवमा आयोजित २ दिने पालिका स्तरीय प्रशिक्षण कार्यक्रममा मन्तव्य राख्दै उहाँले मुलुकको परिवर्तन नेकपा एमालेबाट मात्रै संभव भएको बताउनु भयो । 
पछिल्लो समय राजनीतिलाई पेसा बनाउने किसिमले प्रचार गर्न खोजिए भन्दै उहाँले नेकपा एमालेका हरेक नेता कार्यकर्तामा त्याग र सहयोगको भावना हुनुपर्ने बताउनु भयो ।राजनीतिक परिवर्तनको निम्ति ठुलो बलिदान ,संघर्ष र त्याग गरेका नेताहरु स-साना बिषयमा अल्झिदा जनतामा अबिस्वास र निराशा पैदा भएको भन्दै राष्ट्र र जनतालाई मुख्य केन्द्रमा राखेर काम गर्नुपर्नेमा उहाँको जोड थियो । अध्यक्ष भुसालले मुलुकमा ठुलो राजनीतिक परिवर्तन भए पनि आर्थिक ,सामाजिक र सांस्कृतिक रुपान्तरण बाँकी रहेको बताउनु भयो । उहाँले संगठनात्मक अराजकतालाई परास्त गर्दै सुदृढ र एकीकृत संगठन निर्माण गरि २०८४ को निर्वाचनमा पार्टीले बहुमत ल्याउने गरि काम गर्नुपर्नेमा जोडदिनु भयो । 
नेकपा एमाले छत्रदेब गाउँ पालिका कमिटीका अध्यक्ष रामजी प्रसाद पाण्डेको अध्यक्षता ,उपाध्यक्ष शान्ता थापाको स्वागत मन्तव्य र सचिव तेज प्रसाद खनालको संचालनमा सम्पन्न कार्यक्रममा अध्यक्ष भुसालका साथै प्रदेश र जिल्लाका नेताहरु केवी भुसाल,शम्भु पोख्रेल,लिलबहादुर बि.क.,श्रीकृष्ण भुसाल,कमल घिमिरे,विष्णु प्रसाद पोख्रेल,शुष्मा श्रेष्ठ,कुसल भुसाल लगायतले प्रशिक्षण दिनुभएको थियो । 
कार्यक्रममा करीब १ सय ५० भन्दा बढी पालिका भित्रका अगुवा कार्यकर्ताले प्रशिक्षण लिएको स्कुल विभागका उपप्रमुख कमल घिमिरेले बताउनु भयो ।