राम बहादुर बिश्वकर्मा
बैंकिङ क्षेत्रबाट सुरु भएको मर्ज को अभ्यास अब सहकारी क्षेत्रमा पनि सुरु भएको छ।शुक्रबार प्युठान नगरपालिका वडा नम्बर ९ र १० मरन्ठाना अन्तर्गत रहेका बचत तथा ऋण सहकारी सस्थाका संचालकहरुले सहकारी मर्ज गर्ने तर्फ प्रारम्भिक छलफललाई अगाडि बढाएका छन।उक्त क्षेत्रको अग्रणी सहकारी सस्था दीप ज्योति बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष बिकास के सि को संयोजनमा मर्ज सम्बन्धि छलफल अगाडि बढाइएको हो।
सहकारी मर्ज किन?
सहकारी ऐन,२०७४,सहकारी नियामवली,२०७५ ले गरेको विशेष व्यवस्था गरि उक्त ऐनको प्रस्तावनाले सहकारी सिद्धान्त,उद्देश्य,मूल्यजस्ता पक्षमा प्रकाश पारेको छ।त्यसैले सहकारी एकीकरण स्वस्फूर्त हुनुपर्छ ताकि संस्थाहरू आफ्नो क्षमता विस्तार गर्न,जोखिम घटाउन,सदस्य सेवा प्रभावकारी पार्न,लागत संरचना घटाउन, प्रविधि ग्रहण गर्न,व्यावसायिक बन्न जरुरी छ।सरकार केवल उत्प्रेरक र सहजकर्ता मात्र हो।संस्थाको दिगो व्यवस्थापनका लागि पनि स्वस्फूर्त मर्ज आवश्यक छ।निस्कृय रहेकालाई खारेज गर्न सक्ने र घाटामा रहेकालाई मर्ज मा जान दवाव दिने सरकारी नीति आएको अवस्थामा सहकारी क्षेत्रमा यो नीति सफल हुन सक्ने विज्ञहरु बताउँछन् । नत्र अहिलेकै अवस्थामा भने केही सहकारीहरु आफूखुसी मर्जर भए पनि बैंकमा जस्तो उपलब्धी हासिल गर्न गाह्रो पर्नेछ।सहकारीलाई अर्थतन्त्रको तीन खम्बामध्ये एक खम्बा मानिँदैै आएको छ ।"जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष त सहकारी अभियनता भोज बहादुर बस्नेत भन्नुहुन्छ।-"अर्थतन्त्रको खम्बा बलियो हुनका लागि सबै खम्बा उत्तिकै बलियो हुनु जरुरी छ।अर्थतन्त्रको एक खम्बा सहकारीलाई पनि बलियो बनाउनका लागि अहिले सहकारी मर्ज गर्नुपर्ने आबश्यकता छ।"सङ्ख्या मात्र धेरै भए तर आफ्ना सदस्यलाई चाहिए जति लगानी गर्न नसक्ने अवस्थामा अहिलेका सहकारी भए,अब सहकारी बैंकहरुसँग प्रतिस्पर्धा गर्न सक्ने,बैंकको तहमा रहेर आफ्ना सदस्यहरूलाई ऋण तथा सेवा दिन सक्ने किसिमको हुनु जरुरी रहेको बस्नेतको भनाई छ।
सहकारी मर्जका लागी पूर्वतयारी चाहिन्छ।
सहकारी मर्जरमा जानुपर्छ भनेर मात्र हुँदैन।त्यसका लागि सरकारी निकायबाट आवश्यक पूर्वतयारी चाहिन्छ । राष्ट्रिय सहकारी महासघले पनि १० वर्षभित्र ५ हजारको सङ्ख्यामा सहकारीलाई झार्ने भनिरहेको छ । यसका लागि जागरण कार्यक्रम सञ्चालन गर्नुपर्छ।मर्जमा गएर के फाइदा हुन्छ भन्ने कुरा सहकारीकर्मीहरुलाई बुझाउन सक्नुपर्छ । यसका लागि एउटा स्पष्ट नीति चाहिन्छ। मर्जमा जान सहकारी कर्मीहरुलाई तालिम दिनुपर्छ । यो यो कारणले हामी मर्जमा जानुपर्छ भनेर बुझाउनुपर्छ।अनि मात्र मर्जरमा आकर्षण बढ्छ ।
तस्बिर: सहकारी मर्ज बारे स्पष्ट पार्दै सहकारी अभियानता भोज बहादुर बस्नेत
नेपालको संविधानले सहकारी अभियानबाट अपेक्षा गरेको भूमिकाको भावना अनुसार ऐनले दुई वा दुईभन्दा बढी सहकारी संस्थाहरू आपसमा गाभी एकीकरण गर्न सकिने व्यवस्था गरेको छ भने नियमावलीले एकीकरणका आधारहरू उल्लेख गरिसकेको छ।सहकारीमा दोहोरो सदस्यताको अन्त्य गरी सहकारीमा छरिएर रहेको पूँजीलाई एकत्रित गर्दै एक सक्षम र सवल सहकारी स्थापना गरी सदस्यलाई सर्वसुलभ सेवा प्रदान गर्ने उद्देश्यका साथ अगाडि बढ्न उत्तिकै आबश्यक छ। सहकारी मर्ज का विषयमा उठ्ने अर्को सवाल हो–यो स्वतःस्फूर्त हो कि बाध्यतात्मक ?सहकारी आफैमा स्वअनुशासन,स्वयं परिचालित, स्वउत्तरदायी सदस्य केन्द्रित लोकतान्त्रिक सामाजिक अभियान हो । त्यसैले यसका मूल्य र स्वायत्ततामा आघात पार्ने काम कहीं कतैबाट हुनु हुँदैन ।
सहकारी मर्ज पस्चात चुनौती चाहिँ के हुन सक्ला ?
मर्ज आफैंमा जटिल प्रक्रिया हो । ‘मर्ज भनेको म्यारिज जस्तै विश्वासको प्रक्रिया हो।विश्वासको सेतु जति कसिलो पार्न सकियो,त्यति नै गठिलो र विश्वास टुट्यो, क्षणमै भताभुंग हुन्छ।’एकीकरणमा नाम र पहिचान मिलाउने समस्या छ, नेतृत्व लिनमा प्रतिस्पर्धा र टकराव हुन सक्छ ।सरकारको सोच र अभियानको अपेक्षा सन्तुलनमा समस्या देखिन सक्छ । राजनीति हावी हुन सक्छ । पुरानो ऋण, दायित्व र ‘गुडविल’ व्यवस्थापनमा समस्या देखिन सक्छ । एकीकरण हुने संस्थाको हैसियत,पृष्ठभूमि,फैलावट आदि सम्बोधन गर्ने समस्या रहन सक्छ । सरकारी सहुलियत हुने हो भने सहुलियतकै लागि पनि एकीकरण हुने प्रवृत्ति देखिन सक्छ ।सरकारका र नियमन र बुझाइमा समस्या छन् । संस्थाको आकार र कार्यक्षेत्र विस्तार भएपछि व्यवसाय ‘को अप्सन’मा गई सदस्य र सरकारको भावना उपेक्षा पनि गर्न सक्छन्।मर्ज प्रक्रियामा यी सबै विषयमा विश्वासको वातावरण चाहिन्छ ।सबैभन्दा ठूलो सामाजिक सञ्जालमा व्यावसायिकता,स्वयं अनुशासन र विशिष्टता देखिए समाज नै रूपान्तरित हुन्छ।यसर्थ सहकारीका मूल्य,मान्यता,सिद्धान्तको संस्थागत विकास र राष्ट्रिय अभीष्ट पूरा गर्ने रणनीतिक साझेदारीका लागि सहकारी मर्जले ठूलो सहयोग पुर्याउने हुँदा सरकार,अभियान र सरोकारवाला सबैले स्वस्थ र स्वस्फूर्त एकीकरणका लागि सहयोग गर्नुको विकल्प छैन ।
प्रतिक्रिया राख्नुहोस्