राम बहादुर बिश्वकर्मा
प्युठान,एम्बुलेन्सलाई तिर्नुपर्ने भाडासमेत नहुँदा घरमै सुत्केरी हुनुपर्ने बाध्यतामा रहेका प्युठान नगरपालिकाका गर्भवतीले अब निशुल्क एम्बुलेन्स सेवा पाउने भएका छन्।
सस्थागत सुत्केरीको संख्यामा वृद्धि गर्न ,प्रसब जटिलताको कारणले हुने मात्री तथा नव शिशु मृत्युदरमा कम गर्न तथा सुत्केरी हुन लागेका गर्भवती आमाहरुको एम्बुलेन्स सेवामा सहजताका साथ पहुँच बढाई सेवाको गुणस्तर वृद्धि गर्ने उद्देश्यले सुत्केरी महिलाहरुलाई निशुल्क एम्बुलेन्स सेवा निशुल्क गरिएको हो।
यसअघि एम्बुलेन्स भाडा तिर्न नसकेर घरमै सुत्केरी हुँदा कतिपय आमा र नवजात शिशुको मृत्यु हुने गरेको थियो।
उता नगरपालिकाले यस्तो निर्णय गरेसँगै विपन्न वर्गमा खुसी छाएको छ। समुदायका अधिकांश सर्वसाधरण कृषिमा निर्भर छन्। उनीहरु पैसा अभावमा रोग लुकाएर बस्न बाध्य थिए। इमर्जेन्सिनै हुँदापनि एम्बुलेन्स लिएर तत्काल अस्पताल पुग्ने अवस्था थिएन। तर,नगरपालिकाले ढिलै भएपनि गर्भवती–सुत्केरी महिलालाई राहत पुगेको नागरिक अगुवा बताउछन् ।
आर्थिक बर्ष ०७८/०७९ को स्वीकृत बजेट कार्यक्रम अनुसार नगरपालिका भित्रका सुत्केरी महिलाहरुका लागि कुनै पनि स्वास्थ्य संस्थासम्म जान र घर फर्कन निःशुल्क एम्बुलेन्सको प्रयोग गर्न पाउने व्यवस्था गर्ने निर्णय गरिएको प्युठान नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत थानेश्वर भण्डारीले भन्नुभयो । १० वटा वडा रहेको प्युठान नगरपालिकामा अधिकतम महिलाहरुले प्रसुती सेवा लिन सक्ने अनुमान स्वास्थ्य शाखाले गरेको छ।
नगरपालिका भित्रका ६ वटा वडामा बर्थिङ सेन्टर रहेका छन भने अन्य वडाका महिलाईहरुले पायक पर्ने स्वास्थ्य सस्थाबाट प्रसुती सेवा लिदै आउने गरेको र अहिले पनि केही प्रतिशत महिला घरैमा सुत्केरी हुने गरेको स्वास्थ्य शाखाका प्रमुख गोबिन्द घिमिरेले बताउनुभयो। ‘नगरपालिका को यस्तो निर्णयले यस वर्ष स्वास्थ्य संस्थामा जोखिम रहित सेवा लिने बढ्नेछन उहाँको भनाइ छ।
निशुल्क एम्बुलेन्स सेवा प्राप्त गर्नका लागि सुत्केरी महिलाले १ प्रती निवेदन,नागरिकताको प्रतिलिपी,एनसी कार्ड,शिशुको जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपी ,एम्बुलेन्स प्रयोग गरे बापतको नगदी रसिद लगायतको कागजात संलग्न गर्नुपर्ने छ।
प्रतिक्रिया राख्नुहोस्