गोरखा : उचित पोषिलो खानेकुराको अभावमा गोरखाको चेपाङ बालबच्चा कडा कुपोषणको शिकार भएका छन् । गण्डकी गाउँपालिका ७ सालघारीका १० महिने एक बालकमा कडा खालको र अरु सात जनामा मध्यम खालको कुपोषणको समस्या देखिएको स्थानीय स्वास्थ्यकर्मी अनिता रसाइलीले जानकारी दिइन् ।
'एकजनामा साम (कडा खालको कुपोषण देखिएको छ । अरु सात जनामा माम (मध्यम खालको कुपोषण) भएको पाइएको छ, रसाइलीले भनिन्न्, 'विशेष गरी चेपाङ समुदायमा पोषिलो खानेकुराको अभाव र चेतनाको अभावका कारण यस्तो समस्या देखिएको हो ।'
१० महिनाको बालक न्यूनतम नौ किलोग्रामको हुनुपर्नेमा छ किलो मात्र रहेको उनले बताइन् ।विगत चार महिनादेखि बच्चाले खानेकुरा रुचाएर नखाने गरेकाले यो समस्या आएको बालककी आमा रीता चेपाङ बताउँछिन् । १७ वर्षमा बिहे गरेकी उनको यो पहिलो बच्चा हो ।
'जन्मिँदा त तीन किलो दुईसय पचास ग्राम थियो, चेपाङ भन्छिन्, 'चार महिना भयो, बढ्लाभन्दा झन् घटिरहेको छ ।'
घरमा आएको स्वास्थ्यकर्मीले किन कुपोषण गराएको भनेर गाली गर्ने गरेको उनले सुनाइन् । 'चेपाङ समुदायका आमाहरु घरमा खानेकुरा भए खुवाउँछन्, नभए खुवाउँदैनन्, गाउँपालिकाको स्वास्य शाखा प्रमुख बेलीमाया श्रेष्ठ भन्छिन्, 'बल्लतल्ला खोजबिन गरेर ल्याएको खानेकुरा पनि सन्तुलित बनाएर नखुवाउने, बेलामा नखुवाउने गरेकाले यो समस्या देखिएको हो ।'
गाउँपालिकाको स्वास्थ्य शाखासँग पोषण कार्यक्रम खासै नभएको भन्दै उनले भएका कार्यक्रम पनि लकडाउनका कारण सञ्चालन गर्न नसकिएको जनाएकी छन् ।
प्रतिक्रिया राख्नुहोस्