सडक आश्रितको सहारा बन्दै : प्युठान नगरपालिका

राम बहादुर बिश्वकर्मा 
प्युठान,सडकका छेउछाउ, चोक र बजार क्षेत्रमा दिनरात भौतारिँदै,भोक,अभाव र असहायताको पीडामा बाँचिरहेका युवाहरूको जीवनमा परिवर्तन ल्याउने उद्देश्यले प्युठान नगरपालिकाले एक महत्वपूर्ण सामाजिक अभियान अघि बढाएको छ।
“मानवमुक्त प्युठान नगर अभियान” नाम दिइएको यस पहलले सडक आश्रित,बेवारिसे तथा पारिवारिक सहाराविहीन अवस्थामा रहेका युवाहरूलाई उद्धार गरी सुरक्षित र सम्मानजनक जीवनतर्फ उन्मुख गराउने लक्ष्य राखेको छ। यस कार्यमा मानव सेवा आश्रम सँग सहकार्य गरिएको छ,जसले लामो समयदेखि देशभर सडक आश्रित तथा असहाय व्यक्तिहरूको सेवा गर्दै आएको छ।
अभियान अन्तर्गत नगरपालिकाले सडकमा कष्टकर जीवन बिताइरहेका युवाहरूको पहिचान गरी उनीहरूको उद्धार गर्ने, तत्कालीन आवश्यकताअनुसार स्वास्थ्य परीक्षण,खानपान तथा कपडाको व्यवस्था गर्ने र त्यसपछि मानव सेवा आश्रममा सुरक्षित रूपमा पठाउने योजना बनाएको छ।आश्रममा पुगेपछि उनीहरूले निःशुल्क आवास,नियमित भोजन,स्वास्थ्य सेवा र आवश्यक परामर्श पाउनेछन्। यससँगै उनीहरूको मानसिक तथा सामाजिक पुनर्स्थापनामा समेत विशेष ध्यान दिइनेछ।
सडक जीवनले धेरै युवाहरूलाई कुलत,मानसिक तनाव,सामाजिक बहिष्कार र आत्मसम्मान गुमाउने अवस्थासम्म पुर्‍याएको हुन्छ। यस्तो अवस्थामा उनीहरूलाई केवल आश्रय उपलब्ध गराउनु मात्र पर्याप्त हुँदैन,उनीहरूको जीवनमा नयाँ आशा जगाउनु,आत्मविश्वास बढाउनु र सीप विकासका अवसर प्रदान गर्नु अत्यन्त आवश्यक हुन्छ। यही आवश्यकतालाई मध्यनजर गर्दै नगरपालिकाले तालिममूलक कार्यक्रम,सीप विकास र स्वरोजगारसँग जोड्ने योजनासमेत अघि सारेको छ।
यस अभियानले “मानवता” लाई केन्द्रमा राख्दै समाजका सबैभन्दा कमजोर र ओझेलमा परेका व्यक्तिहरूलाई मुख्यधारमा ल्याउने प्रयास गरेको छ। स्थानीय सरकार र सामाजिक संस्थाबीचको सहकार्यले सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेको छ भने समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ।
प्युठान नगरपालिका भित्र कुनै पनि नागरिक सडकमा बेवारिसे अवस्थामै जीवन बिताउन नपरोस् भन्ने दीर्घकालीन लक्ष्यसहित अघि बढाइएको यस अभियानले अन्य स्थानीय तहहरूलाई समेत प्रेरणा दिन सक्ने देखिन्छ। समाजमा रहेका सबै वर्ग,संघसंस्था तथा सरोकारवालाहरूको सहकार्य र समर्थनले मात्र यस्ता अभियानहरू सफल बन्ने भएकाले,यसमा सबैको साथ र सहयोग अपरिहार्य रहेको छ।
नगर उपप्रमुख देवेन्द्र वर्माका अनुसार,यो अभियान केवल उद्धारमै सीमित नभई दीर्घकालीन पुनर्स्थापना र आत्मनिर्भरता सुनिश्चित गर्ने दिशामा केन्द्रित छ।
उहाँले भन्नुभयो,“सडक आश्रित युवाहरूलाई केवल आश्रय दिने होइन,उनीहरूको आत्मसम्मान पुनःस्थापित गर्दै समाजमा सक्रिय नागरिकका रूपमा स्थापित गर्नु हाम्रो लक्ष्य हो। यसका लागि सरकारी निकाय मात्र होइन,समुदाय,नागरिक समाज,सञ्चारमाध्यम र निजी क्षेत्रको समेत समान भूमिका आवश्यक छ।”
अभियान अन्तर्गत उद्धार गरिएका व्यक्तिहरूलाई मानव सेवा आश्रम मा सुरक्षित राखेर उनीहरूको स्वास्थ्य परीक्षण,मानसिक परामर्श,सरसफाइ,पोषणयुक्त आहार तथा नियमित हेरचाह सुनिश्चित गरिनेछ। विशेषगरी लामो समय सडक जीवन बिताएका व्यक्तिहरूमा देखिने मानसिक तनाव,कुलत तथा आत्मविश्वासको कमीलाई मध्यनजर गर्दै मनोसामाजिक परामर्शलाई प्राथमिकता दिइने बताइएको छ।