कम्तिमा १० हजार युवालाई सीप विकास गराउनु पहिलो प्राथमिकता: डा. पोख्रेल

कम्तिमा १० हजार युवालाई सीप विकास गराउनु पहिलो प्राथमिकता: डा. पोख्रेल

प्युठान,गोविन्दराज पोखरेल ले देशमा बढ्दो बेरोजगारी समस्या समाधान गर्नु अहिलेको प्रमुख आवश्यकता भएको बताएका छन्।फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्युठानबाट नेपाली कांग्रेस का उम्मेदवार रहेका उनले युवालाई उत्पादन र उद्यमशीलतासँग जोड्न नसक्दा बेरोजगारी बढेको उल्लेख गरे।
मतदाता भेटघाट तथा घरदैलो कार्यक्रमका क्रममा झिमरुक पुगेका डा. पोखरेलले प्युठानमा कृषि,पशुपालन,जडीबुटी,पर्यटन तथा साना उद्योग क्षेत्रमा प्रशस्त सम्भावना रहेको बताए। “युवालाई सीप,पूँजी र बजारसँग जोड्न सकियो भने रोजगारीका अवसर गाउँमै सिर्जना हुन्छन्,” उनले भने।
उनले पहिलो चरणमा कम्तिमा १० हजार युवालाई सीप विकास तालिम प्रदान गर्ने,तालिमपछि सहुलियत ऋणको व्यवस्था मिलाउने र उत्पादनको बजार सुनिश्चित गर्न सहकारी तथा निजी क्षेत्रसँग सहकार्य गर्ने योजना सार्वजनिक गरे। विशेष गरी कृषि प्रशोधन उद्योग,डेरी,कुखुरा तथा बाख्रापालन, ढाका तथा हस्तकला उत्पादन,आईटी तथा डिजिटल सेवा क्षेत्रमा युवालाई प्रोत्साहन गरिने उनले बताए।
डा. पोखरेलले शिक्षा प्रणालीलाई श्रम बजारको मागअनुसार परिमार्जन गर्नुपर्ने धारणा राख्दै प्राविधिक तथा व्यावसायिक शिक्षामा लगानी बढाउने प्रतिबद्धता व्यक्त गरे। साथै,वैदेशिक रोजगारीबाट फर्किएका युवाको सीप र अनुभवलाई उपयोग गर्ने विशेष कार्यक्रम ल्याउने पनि उनले बताए।
“प्युठानका युवा रोजगारीका लागि विदेश जान बाध्य हुने अवस्था अन्त्य गर्नुपर्छ,”उनले भने, “स्थानीय स्रोत-साधनको अधिकतम उपयोग गर्दै उत्पादन वृद्धि र उद्यम प्रवर्द्धनमार्फत आर्थिक समृद्धि हासिल गर्न सकिन्छ।”
डा.पोखरेलले पारदर्शी प्रशासन,नीतिगत सुधार र लगानीमैत्री वातावरण निर्माणमार्फत दिगो रोजगारी सिर्जना गर्ने आफ्नो स्पष्ट एजेन्डा रहेको दोहोर्‍याए।