प्युठान,निर्वाचन नजिकिँदै गर्दा प्यूठानको राजनीतिक माहोल तातेको छ। यस्तै परिवेशमा नेकपा प्यूठानका उम्मेदवार कृष्णध्वज खड्काले सामाजिक सञ्जालमार्फत फैलाइँदै आएका भ्रामक सूचनाप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ। निर्वाचनका गतिविधि सम्पादन तथा प्रचार–प्रसारका लागि जुम्रीमा स्थापना गरिएको सम्पर्क कार्यालयको उद्घाटन कार्यक्रममा उहाँले सामाजिक सञ्जालको वर्तमान प्रयोगशैलीले लोकतन्त्रलाई नै चुनौती दिइरहेको धारणा राख्नुभयो।
“लोकप्रियता कमाउने होडमा तथ्यहीन कुरा फैलाइँदैछ,”खड्काले भन्नुभयो,“यसले समाजमा अन्योल मात्र होइन,अराजकता पनि जन्माइरहेको छ।”उहाँका अनुसार अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधार हो तर यसको दुरुपयोग हुँदा लोकतान्त्रिक मूल्य–मान्यता कमजोर बन्छन्।
प्यूठानजस्तो सामाजिक रूपमा नजिकिएको समुदायमा सामाजिक सञ्जालको प्रभाव झनै गहिरो देखिन्छ। उम्मेदवारहरूको पृष्ठभूमि,विगतको योगदान र विचारभन्दा पनि सामाजिक सञ्जालमा फैलाइएका अधुरो र भ्रामक सामग्रीकै आधारमा धारणा बन्न थालेको खड्काको भनाइ छ। यसले मतदातालाई सही निर्णय गर्न कठिन बनाएको उहाँले उल्लेख गर्नुभयो।
यही सन्दर्भमा उहाँले पत्रकारिताको भूमिकालाई विशेष रूपमा स्मरण गर्नुभयो। प्यूठानका सबै उम्मेदवारहरूको पृष्ठभूमि,योगदान,जनआवश्यकताप्रतिको बुझाइ र राष्ट्रिय स्वाधीनताप्रतिको दृष्टिकोणलाई तथ्यका आधारमा नागरिकसमक्ष पुर्याउन पत्रकारहरूले निष्पक्ष र जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा उहाँको जोड थियो।
“सामाजिक सञ्जाल प्रयोग आफैंमा गलत होइन,यो सामाजिक दायित्वभित्र पर्छ,”खड्काले भन्नुभयो,“तर फेक आइडीमार्फत फैलाइने नकारात्मक सामग्रीमा प्रायः सत्यता हुँदैन।”यस्ता सामग्रीको प्रभाव तोड्न तथ्यसहित सत्य उजागर गर्नु देशको चौथो अङ्ग पत्रकार जगतको दायित्व भएको उहाँको भनाइ थियो।
सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता,समर्थक र सर्वसाधारणको उपस्थिति देखिन्थ्यो।कार्यक्रम केवल उद्घाटनमै सीमित रहेन आगामी निर्वाचनमा संगठन सुदृढीकरण,घरदैलो अभियान र मतदातासँग प्रत्यक्ष संवादलाई प्रभावकारी बनाउने विषयमा समेत छलफल गरिएको थियो।
सामाजिक सञ्जालको तीव्र प्रभाव,राजनीतिक प्रतिस्पर्धा र मतदाताको चेतनास्तरबीच सन्तुलन कायम गर्नु आजको लोकतान्त्रिक चुनौती हो। प्यूठानबाट उठेको खड्काको यो आवाज केवल एउटा उम्मेदवारको धारणा मात्र नभई,जिम्मेवार राजनीतिक अभ्यास र सचेत नागरिकताको बहससमेत हो।
प्रतिक्रिया राख्नुहोस्