प्युठान,नेकपा एमाले जिल्ला कमिटी प्युठानले पार्टी र जनवर्गीय संगठनका पदाधिकारीहरूलाई एकै ठाउँमा राखी समसामयिक राजनीतिक घटनाक्रम र आगामी प्रतिनिधि सभा निर्वाचनको सन्दर्भमा विस्तृत छलफल कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमले जिल्लास्तरमा रहेका जनवर्गीय संगठनलाई थप सुदृढ बनाउँदै निर्वाचन केन्द्रित रणनीति तय गर्न महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूको भनाई छ।
छलफलमा आसन्न निर्वाचनमा पार्टी कसरी जनतामाझ अझ प्रभावकारी रूपमा प्रस्तुत हुन सक्छ भन्ने विषयमा गहिरो विचार–विमर्श गरिएको थियो। जनवर्गीय संगठनहरूको भूमिकालाई सक्रिय र परिणाममुखी बनाउँदै संगठनात्मक एकता मजबुत पार्ने आवश्यकता औंल्याइएको थियो।
पछिल्लो समय राष्ट्रिय राजनीतिमा देखिएको अस्थिरता,दलभित्रका विभाजन र त्यसले लोकतान्त्रिक अभ्यासमा पारेको असरका बीच आयोजित यो कार्यक्रमलाई जिल्लास्तरको राजनीतिक दिशा तय गर्ने महत्वपूर्ण प्रयासका रूपमा हेरिएको छ।
कार्यक्रममा बोल्दै पार्टी अध्यक्ष विजय बिराज बिष्टले भदौ २३ र २४ गते भएका राजनीतिक घटनालाई स्मरण गर्दै ती घटनाहरूलाई सामान्य राजनीतिक प्रक्रिया मात्रका रूपमा लिन नहुने धारणा व्यक्त गर्नुभयो। उहाँका अनुसार देशी तथा विदेशी शक्तिहरूको हस्तक्षेपका कारण देशका ठूला राजनीतिक दलहरूलाई विभाजन गर्ने प्रयास भयो,जसले लोकतन्त्र माथि गम्भीर प्रहार गरेको छ। अध्यक्ष बिष्टले नेकपा एमाले फुटाउन खोजिए पनि त्यो प्रयास असफल भएपछि नेपाली कांग्रेसलाई विभाजनतर्फ धकेलिएको दाबी गर्नुभयो।
छलफलमा माघ ६ गते मनोनयन दर्ताको दिन सञ्चालन गरिने कार्यक्रमको तयारी,व्यवस्थापन तथा जनवर्गीय संगठनहरूलाई निर्वाचन अभियानमा कसरी सक्रिय बनाउने भन्ने विषयमा समेत ठोस प्रस्तावहरू प्रस्तुत गरिएको थियो। संगठनलाई चलायमान बनाउँदै गाउँ–गाउँसम्म पार्टीको सन्देश पुर्याउने रणनीतिमा जोड दिइएको थियो।
शनिबार उमेशचन्द्र स्मृति प्रतिष्ठान भवनको हलमा सम्पन्न कार्यक्रमको सहजीकरण नेकपा एमाले जिल्ला कमिटीका प्रचार–प्रसार विभाग प्रमुख नेगन सिंह कुवरले गर्नुभएको थियो। सहभागीहरूले यस्ता छलफल कार्यक्रमले संगठनात्मक स्पष्टता र राजनीतिक एकतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।
प्रतिक्रिया राख्नुहोस्