राम बहादुर बिश्वकर्मा
प्युठान,जिल्लाको मरन्ठाना क्षेत्रमा क्रियाशील उज्यालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९औँ साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ। सहकारीको दीगो विकास,पारदर्शिता र सदस्यको आर्थिक सशक्तीकरणलाई केन्द्रमा राख्दै साधारण सभा आयोजना गरिएको हो।
संस्थाका अध्यक्ष राधा महतरा क्षेत्रीको अध्यक्षतामा सम्पन्न सभामा प्युठान नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष विकास के.सी. प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सहकारी सदस्य, शेयरधनी, बुद्धिजीवी लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि के.सी.ले सहकारी संस्थाहरूले उपभोगमुखी क्षेत्रमा मात्र होइन,उत्पादनमूलक तथा रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिनुभयो। पछिल्लो समय युवाहरू श्रम र उत्पादनभन्दा सुविधामुखी जीवनशैलीतर्फ आकर्षित हुँदै जानु समाजका लागि चुनौती बनेको उहाँको भनाइ थियो।
“सहकारी सचेतना अभिवृद्धि गर्न अब अभियानकै रूपमा अगाडि बढ्न आवश्यक छ,” उहाँले भन्नुभयो।
उहाँले सहकारीमा लगानी गर्दा डुब्ने भन्ने भ्रमका कारण धेरैको पैसा बैंकमा मात्र थन्किएको अवस्थामा रहेको उल्लेख गर्दै त्यसप्रति सबै सचेत हुनुपर्ने आवश्यकता औँल्याउनुभयो। सहकारी सही व्यवस्थापन र पारदर्शिताका साथ सञ्चालन भएमा सदस्यको आर्थिक जीवनस्तर सुधार्न महत्वपूर्ण भूमिका खेल्ने उहाँको धारणा थियो।
त्यस्तै वडा नम्बर १० का वडा अध्यक्ष लोकबहादुर के.सी.ले पछिल्लो समय सहकारी संस्थाप्रति समाजमा देखिएको नकारात्मक दृष्टिकोणप्रति चिन्ता व्यक्त गर्नुभयो। उहाँले सहकारी संस्थालाई व्यवस्थित,उत्तरदायी र पारदर्शी बनाउन सञ्चालक समिति,सदस्य र सरोकारवाला सबैको साझा प्रयास आवश्यक रहेको बताउनुभयो।
२०६३ सालमा स्थापना भएको उज्यालो बचत तथा ऋण सहकारी संस्थाले हालसम्म निरन्तर प्रगति गर्दै आएको छ। संस्थाले गत आर्थिक वर्षसम्म ३ करोड २९ लाख ६४ हजार ९ सय ९३ रुपैयाँ ३१ पैसाको कारोबार गरेको जनाएको छ।
सहकारीको सेयर पूँजी १७ लाख ५५ हजार ८ सय रुपैयाँ रहेको छ भने ऋण लगानी २ करोड ५६ लाख २८ हजार ७ सय १९ रुपैयाँ पुगेको छ। हाल संस्थामा ६४ लाख ९० हजार ८ सय ७६ रुपैयाँ ४ पैसा मौज्दात रहेको र ६ सय ५१ जना सेयर सदस्य आबद्ध रहेको जानकारी दिइएको छ।
संस्थाका उपाध्यक्ष पूर्णबहादुर भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा कोषाध्यक्ष शारदा विश्वकर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो भने प्रगति प्रतिवेदन सचिव सिताराम घर्तिमगरले प्रस्तुत गर्नुभएको थियो। प्रतिवेदनमाथि छलफल गर्दै सदस्यहरूले सहकारीलाई अझ प्रभावकारी बनाउन सुझावहरू पनि दिएका थिए।
साधारण सभाका अवसरमा सहकारीमार्फत उत्कृष्ट योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो। असल ऋणी तथा बचतकर्ताको रूपमा बसन्ता रोका र केशव के.सी. सम्मानित हुनुभयो। सफल कृषकका रूपमा दिनबहादुर जी.सी. र गोविन्द बि.क.लाई सम्मान गरिएको थियो भने ज्येष्ठ सदस्यतर्फ छमा बिष्ट र डेडमाम भण्डारी सम्मानित हुनुभएको छ।
त्यसैगरी शैक्षिक क्षेत्रमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई प्रोत्साहनस्वरूप पुरस्कार प्रदान गरिएको थियो। बाल विद्या माध्यमिक विद्यालय मजुवाबाट गत शैक्षिकसत्रको एसईईमा उत्कृष्ट जिपिए ल्याउने छात्रा थमी सुनार,देबलयडाँडा नेरा प्राविबाट सुप्रिया भण्डारी र अबिरल सुनार, दुर्गा प्रावि मरेङ्गबाट महेश घर्तिमगर र इशा घर्तिमगर तथा जनता नेरा प्रावि छेपानेबाट कृष्णा राहुमगर र अनिता पुन मगर लाई पुरस्कार प्राप्त गर्ने विद्यार्थीहरू हुनुहुन्छ।
सभामा सहकारी ऐन २०७४ अनुसार संस्थाको विनियम पुनःलेखन तथा संशोधन गरिएको जानकारी गराउँदै आगामी दिनमा उज्यालो सहकारीलाई अझ व्यवस्थित, विश्वसनीय र सदस्यमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो। स्थानीय समुदायको भरोसासहित अघि बढिरहेको उज्यालो सहकारीले सहकारी आन्दोलनलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया राख्नुहोस्