राम बहादुर बिश्वकर्मा
प्यूठान,नेकपा (एमाले) प्यूठानले प्रतिनिधि सभा सदस्यका लागि पार्टीका केन्द्रीय सदस्य सूर्य थापाको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको छ। जिल्ला कमिटी प्यूठानको छैठौँ बैठकले थापालाई एकल उम्मेदवारका रूपमा सिफारिस गर्ने निर्णय गरेको हो।
बैठकमा पार्टीको वर्तमान राजनीतिक अवस्था,आगामी निर्वाचनको चुनौती,जिल्लाको संगठनात्मक संरचना र जनआधारको अवस्थाबारे व्यापक छलफल भएको थियो। छलफलपछि अनुभवी,स्थापित र राष्ट्रिय राजनीतिमा प्रभावशाली भूमिका निर्वाह गर्दै आएका सूर्य थापालाई नै प्रतिनिधि सभा सदस्यको उम्मेदवारका रूपमा अघि सार्ने निष्कर्षमा जिल्ला कमिटी पुगेको बताइएको छ।
थापा यसअघि बिघटित प्रतिनिधि सभाका सदस्य हुनुहुन्थ्यो। उहाँ संसदमा रहँदा राष्ट्रिय राजनीतिका विभिन्न विषयमा स्पष्ट धारणा राख्ने, सरकारको कामकारबाहीप्रति कडा निगरानी गर्ने
र हरेक क्षेत्रमा सक्रिय भूमिका र पार्टीका नीतिगत विषयमा प्रभावशाली अभिव्यक्तिका लागि परिचित हुनुहुन्छ।
एमाले प्यूठानले आगामी निर्वाचनमा पार्टीलाई अझ मजबुत बनाउने उद्देश्यका साथ अनुभवी र संगठनमा स्थापित नेतृत्वलाई उम्मेदवार सिफारिस गरिएको बताएको छ। जिल्लास्तरमा थापाप्रति व्यापक समर्थन रहेको नेताहरूको भनाई छ।
जिल्ला कमिटीका अध्यक्ष बिजय बिराज बिष्टका अनुसार प्यूठान जिल्लामा पार्टी संगठनलाई एकताबद्ध राख्न,कार्यकर्ता परिचालन गर्न र जनस्तरमा विश्वास कायम राख्न थापाको भूमिका महत्वपूर्ण रहँदै आएको छ।यही कारण पार्टीभित्र कुनै विवाद वा फरक मत नदेखिई सर्वसम्मत निर्णय सम्भव भएको छ।
एमाले प्यूठानले आगामी निर्वाचनलाई पार्टी संगठन बजबुत र जनविश्वास सुदृढ गर्ने अवसरका रूपमा लिएको जनाएको छ। त्यसका लागि संगठन र जनताबीच पुलको काम गर्न सक्ने नेतृत्व आवश्यक रहेको निष्कर्षसहित थापाको नाम सिफारिस गरिएको हो।
अब पार्टी केन्द्रले देशभरबाट आएका सिफारिसका आधारमा अन्तिम निर्णय गर्नेछ। केन्द्रको निर्णयपछि उम्मेदवारी औपचारिक रूपमा टुंगो लाग्नेछ।
प्रतिक्रिया राख्नुहोस्