सिता बि.क
प्युठान,प्रथम स्वर्गद्वारी भिङ्री प्युठान महोत्सव २०८२ शुक्रबारबाट औपचारिक रूपमा उद्घाटन भएको छ।
“कृषि,पर्यटन,उद्योग र व्यापार,स्वर्गद्वारी हाम्रो पहिचानको आधार” भन्ने मूल नारासहित प्युठान उद्योग वाणिज्य संघ स्वर्गद्वारी बजार इलाकाको आयोजनामा सुरु भएको उक्त महोत्सवको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष सुर कृष्ण वैद्यले गर्नुभएको हो।
स्थानीय उत्पादन,व्यापार तथा उद्योग प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको आयोजकले बताएका छन्।महोत्सव अवधिभर विभिन्न व्यापारिक स्टलहरू,स्थानीय उत्पादनको प्रदर्शनी,सांस्कृतिक कार्यक्रम तथा विविध मनोरञ्जनात्मक गतिविधिहरू सञ्चालन हुने जनाइएको छ।
उद्घाटन समारोहमा प्युठान उद्योग वाणिज्य संघका अध्यक्ष सन्देश आचार्यले प्युठान तथा स्वर्गद्वारी नगरपालिका उत्पादनमुखी भूमि,अनुकूल हावापानी र प्रशस्त सम्भावनाले भरिपूर्ण क्षेत्र भएकाले लगानीकर्तालाई यहाँ लगानी गर्न आह्वान गर्नुभयो। उहाँका अनुसार यस क्षेत्र कृषि,पशुपालन,जडीबुटी,पर्यटन तथा साना तथा घरेलु उद्योगका लागि अत्यन्तै उपयुक्त रहेको छ। स्थानीय स्रोतसाधनको अधिकतम उपयोग गर्दै निजी क्षेत्रको लगानी विस्तार गर्न सकेमा रोजगारीका अवसर सिर्जना हुनुका साथै स्थानीय जनताको जीवनस्तरमा सुधार आउने उहाँले बताउनुभयो।
अध्यक्ष आचार्यले निजी क्षेत्रको लगानी नै आर्थिक विकासको प्रमुख आधार भएको उल्लेख गर्दै निजी क्षेत्रको सक्रिय सहभागिताबिना दिगो आर्थिक विकास सम्भव नहुने धारणा व्यक्त गर्नुभयो। उहाँका अनुसार निजी क्षेत्रको लगानी विस्तारले उत्पादन वृद्धि,बजार विस्तार र राजस्व संकलनमा सहयोग पुग्ने भएकाले यसले कुनै पनि देशको अर्थतन्त्रलाई मजबुत बनाउने महत्वपूर्ण भूमिका खेल्छ। त्यसैले संघले स्थानीय,राष्ट्रिय तथा बाह्य लगानीकर्तालाई प्युठान र स्वर्गद्वारी क्षेत्रमा लगानी गर्न आग्रह गर्दै सुरक्षित र लाभदायक वातावरण निर्माणका लागि सबै पक्षको सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो।
कार्यक्रममा नेपाल पत्रकार महासंघ प्युठान शाखाका अध्यक्ष श्रीराम भण्डारीले महोत्सव मनोरञ्जन र रमाइलोमा मात्र सीमित नहुनु पर्ने बताउनुभयो।उहाँले स्वर्गद्वारी महोत्सवले स्थानीय उत्पादनको बजारीकरण,पर्यटन प्रवर्द्धन तथा स्थानीय अर्थतन्त्र सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो। यस्ता महोत्सवमार्फत स्थानीय कृषिजन्य उत्पादन,हस्तकला तथा घरेलु उद्योगका सामग्रीलाई उचित बजार उपलब्ध हुने उहाँको भनाई छ।
अध्यक्ष भण्डारीका अनुसार स्वर्गद्वारी धार्मिक, सांस्कृतिक तथा प्राकृतिक दृष्टिले महत्वपूर्ण क्षेत्र भएकाले यहाँ आयोजना हुने महोत्सवले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सहयोग पुर्याउनेछ। यसले होटल व्यवसाय, यातायात,स्थानीय व्यवसायी तथा सेवाक्षेत्रलाई समेत प्रत्यक्ष लाभ पुग्ने उहाँले उल्लेख गर्नुभयो। साथै,महोत्सवले स्थानीय कला,संस्कृति,भाषा र पहिचानको संरक्षण तथा प्रवर्द्धनमा पनि महत्वपूर्ण भूमिका खेल्ने र युवाहरूलाई स्वरोजगार तथा उद्यमशीलतामा प्रेरित गर्ने अवसर सिर्जना हुने उहाँको विश्वास छ।
स्वर्गद्वारी बजार इलाकाका अध्यक्ष विष्णु योगीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, संघ–संस्थाका प्रतिनिधि,व्यवसायी तथा पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। आयोजकका अनुसार स्वर्गद्वारी नगरपालिका भिङ्री स्थित बसपार्कमा लाग्ने महोत्सव यही पौष २९ गतेसम्म सञ्चालन हुनेछ।
प्रतिक्रिया राख्नुहोस्