राम बहादुर बिश्वकर्मा
प्यूठान,भोलि शनिबार खलंगामा आयोजित जनप्रदर्शनलाई नेकपा (एमाले) का पोलिटब्युरो सदस्य तथा प्यूठान इन्चार्ज सूर्य थापा सहितका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
एमाले प्यूठानका सचिव इन्द्रमणि पोख्रेलका अनुसार जनप्रदर्शनका लागि आवश्यक सबै तयारी पूरा गरिएको छ। पोख्रेलको भनाइ अनुसार ,नेता–कार्यकर्ताको उत्साहजनक उपस्थिति रहने अपेक्षा गरिएको छ।
पोख्रेलले जनप्रदर्शनमार्फत सरकारले गरेका कमजोरी,स्थानीय समस्याहरू र पार्टीका आगामी राजनीतिक निर्देशनबारे जनतामाझ स्पष्ट सन्देश दिने उद्देश्य रहेको बताए।
उनका अनुसार भोलिको कार्यक्रमलाई सफल बनाउन पार्टीका सबै तह–तप्का,जनसंगठनहरू र अग्रगामी मोर्चाहरू सक्रिय रूपमा जुटिरहेका छन्। जिल्लाभित्रका विभिन्न गाउँपालिका तथा नगरपालिकाबाट ठूलो संख्यामा सहभागी आउने अनुमान गरिएको छ।
खलंगास्थित पार्टी चोकमा मञ्च निर्माण,ध्वनि प्रणाली, सुरक्षा व्यवस्था तथा आवश्यक पूर्वाधारको तयारी पूरा भएको एमाले प्यूठानले जनाएको छ।
कार्यक्रममा पोलिटब्युरो सदस्य सूर्य थापासहित प्रदेश तथा जिल्ला तहका नेताहरूले वर्तमान राजनीतिक परिस्थिति, सरकारले सञ्चालन गरेका कार्यक्रमप्रतिको पार्टी धारणा,आगामी रणनीति तथा प्यूठानका विकास–निर्माणसम्बन्धी एजेन्डामा केन्द्रित भई सम्बोधन गर्ने अपेक्षा गरिएको छ।
पार्टीका अनुसार,स्थानीय तहका कार्यकर्ता, युवा, महिला तथा समर्थकहरूको उल्लेख्य सहभागितासहित जनप्रदर्शन शान्तिपूर्ण तर सशक्त जनम्यान्डेटका रूपमा प्रस्तुत हुने विश्वास व्यक्त गरिएको छ।
यता, सुरक्षाका दृष्टिले जिल्ला प्रशासन र सुरक्षा निकायहरू आवश्यक तयारीमा जुटेको र यातायात तथा भीड व्यवस्थापनका लागि समन्वय भइरहेको प्रशासन स्रोतले जनाएको छ।
प्रतिक्रिया राख्नुहोस्