सिता बि.क
प्युठान,माण्डवी गाउँपालिकाले आगामी तिहार र छठ जस्ता चाडपर्व नजिकिँदै गर्दा वातावरणीय प्रदूषण नियन्त्रण र जनस्वास्थ्य संरक्षणका लागि प्लाष्टिकजन्य फूलमाला तथा पटाकाजन्य विष्फोटक पदार्थहरूको उत्पादन,आयात,बिक्री,वितरण र भण्डारणमा पूर्ण प्रतिबन्ध लागू गरेको छ।
नेपाल सरकारद्वारा वातावरण संरक्षण ऐन,२०७६ को दफा १५(१) बमोजिम गरिएको उक्त निर्णय कार्यान्वयनका लागि गाउँपालिकाले स्थानीयवासी,व्यवसायी र सरोकारवालासमेतलाई कडाइका साथ पालना गर्न अनुरोध गरेको छ।
गाउँपालिकाले वातावरणमैत्री र स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न प्राकृतिक सयपत्री र मखमली फूलमालाको मात्र प्रयोग गर्न आग्रह गरेको छ।
यस वर्षलाई “पर्यावरणमैत्री तिहार-२०८२” घोषणा गर्दै गाउँपालिकाले स्थानीय स्तरमा उत्पादन भएका सयपत्री र मखमली फूलहरूको बजार प्रोत्साहन र किसानलाई प्रत्यक्ष आम्दानी हुने वातावरण बनाउने लक्ष्य लिएको छ।
स्थानीय स्तरमा सहज आपूर्तिका लागि माण्डवी गाउँपालिका-३, लामाचौर निवासी चेतकला के.सी. (सम्पर्क नम्बर: ९८४१५६५३३८) सँग सम्पर्क गर्न सकिने जानकारी दिइएको छ।
नि. प्रमुख प्रशासकीय अधिकृत ध्रुव कुमार पोख्रेलका अनुसार“हाम्रो गाउँलाई हराभरा र स्वच्छ बनाउन प्रत्येक नागरिकको जिम्मेवारी बराबर छ। प्लाष्टिक माला होइन,आफ्नै गाउँमा फुलेका प्राकृतिक फूल प्रयोग गरौं-यही नै वास्तविक श्रद्धा र सौन्दर्यको प्रतीक हो।”
साथै गाउँपालिकाले सुरक्षा निकाय र बजार अनुगमन टोलीलाई चाडपर्वका बेला प्लाष्टिक माला, पटाका र अन्य प्रतिबन्धित वस्तुको बिक्री वितरणमा कडाइ गर्न निर्देशन दिएको जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्