सिता वि.क
प्यूठान,जेन्जी आन्दोलनको समाचार संकलनमा खटिएका पत्रकार राम बहादुर विश्वकर्मा माथि अराजक समूहले गरेको धम्की र दुर्व्यवहारप्रति प्रेस चौतारी नेपाल,प्यूठान शाखाले गम्भीर आपत्ति र कडा विरोध जनाएको छ।
प्रेस चौतारीका उपाध्यक्ष तथा पैरवी अनलाइनका प्रकाशक/सम्पादक समेत रहनुभएका पत्रकार विश्वकर्मा भदौ २४ गते बाग्दुलादेखि विजुवार क्षेत्रसम्म रिपोर्टिङमा खटिँदा,आन्दोलनको क्रममा केही उमेरले ५० वर्ष माथिका व्यक्तिहरूले आन्दोलनलाई हिंसात्मक मोडमा लैजाँदै पत्रकारमाथि नै आक्रोश पोख्ने,अभद्र व्यवहार गर्ने र धरपकड गर्न खोज्ने प्रयास गरेका थिए।
नेपाल पत्रकार महासंघ प्यूठानका पूर्व सह-सचिव समेत रहनुभएका विश्वकर्मामाथिको यस्तो आचरणलाई प्रेस चौतारीले पत्रकारको पेशागत धर्ममाथिको हस्तक्षेप र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर हमला ठहर गर्दै तीव्र विरोध जनाएको छ।
प्रेस चौतारी नेपाल जिल्ला शाखा प्युठान द्वारा गरिएको ध्यानाकर्षण
यसै सन्दर्भमा,संगठनले भदौ २३ र २४ गते जेन्जी आन्दोलनको क्रममा ज्यान गुमाएका युवाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै,शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ।प्रेस चौतारीले पत्रकार र सञ्चार माध्यममाथि गरिएको कुनै पनि प्रकारको आक्रमणलाई सञ्चार स्वतन्त्रता र लोकतन्त्रमाथिको खुला उल्लंघन भन्दै घोर भर्त्सना गरेको छ।प्रेस चौतारी नेपाल,प्यूठान शाखाले पत्रकार र सञ्चार माध्यममाथिको आक्रमण सह्य नहुने स्पष्ट पार्दै,संगठनले सञ्चारमैत्री,सुरक्षित र सम्मानजनक वातावरण निर्माणका लागि सम्बन्धित सबै निकायहरूलाई तत्काल जिम्मेवारीपूर्वक पहल गर्न अपिल गरेको छ।

प्रतिक्रिया राख्नुहोस्