तोरबाङ्गमा दलित समुदायका हक अधिकार सम्वन्धी ससक्तिकरण कार्यक्रम

तोरबाङ्गमा दलित समुदायका हक अधिकार सम्वन्धी ससक्तिकरण कार्यक्रम

सीता बि.क
प्युठान,दलित समुदायका हक अधिकार सम्बन्धी जानकारी गराउने उद्देश्यका साथ झिमरुक गाउँपालिका ६ तोरबाङमा दलित ससक्तिकरण कार्यक्रम सम्पन्न भएको छ।झिमरुक गाउँपालिका वडा नम्बर ६ तोरबाङ्गको आयोजनामा भएको दलित ससक्तिकरण कार्यक्रममा जनप्रतिनिधि र वडाका दलित बर्गहरुको उपस्थिति रहेको थियो।
झिमरुक गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष धन बहादुर पुनले कार्यक्रमको उद्घाटन गर्दै दलित समुदायमा ससक्तिकरणका माध्यमबाट सामाजिक परिर्वतन गर्न आवश्यक रहेको बताउनुभयो।उहाँले ससक्तिकरण सङ्गै उत्पादनका क्षेत्रमा लागेर जीवनशैली सुधार गर्नुपर्ने औँल्याउनुभयो।दलित समुदायमा उत्पादन र रोजगारका अवसरमा जोडिएर आयआर्जन गर्नुपर्ने सुझाव उहाँको थियो।कार्यक्रममा वडा अध्यक्ष पुनले जातका आधारमा गरिने भेदभाव र छुवाछूतजन्य अपराध कानूनी रुपमा उन्मूलन भए पनि व्यवहारिक रुपमा अन्त्य हुन नसक्दा दलित समुदायले समस्या खेपिरहनुपरेको बताउनुभयो।
दलित ससक्तिकरण कार्यक्रमको सहजीकरण पत्रकार राम बहादुर बिश्वकर्माले गर्दै दलित  समुदायमाथि हरेक प्रकारका समस्या समाधान गर्न राजनीतिक क्षेत्रमा यो समुदायको अर्थपूर्ण सहभागिता बढाउनुपर्ने बताउनुभयो।राजनैतिक रुपमा दबाब दिन सकेमात्र दलित समुदायका हक अधिकार प्राप्ति गर्न सकिने उहाँले बताउनुभयो। नेपालको संविधान र कानूनमा व्यवस्था गरिएका हक अधिकार समेत प्राप्तिमा समस्या भएकोले त्यसको कार्यान्वयनका लागि राजनैतिक तरबरबाट हस्तक्षेप गर्नुपर्ने उहाँको धारणा थियो।जातीय छुवाछूत अन्त्यका लागि व्यक्ति,परिवार र समाजसँग अन्तरघुलनका कार्यक्रम सञ्चालन गर्नुपर्ने धारण राख्नुभयो।उहाँले स्थानीय स्तरमा अन्तरघुलनका कार्यक्रम सञ्चालन गर्न स्थानीय सरकारले सहयोग गर्नुपर्ने उहाँको भनाई छ।
उहाँले दलितको शिक्षाको अधिकार,स्वास्थ्यको अधिकार,विभेद विरुद्धको अधिकार र भूमिको अधिकारलाई संविधान अनुरुप अक्षरश कार्यान्वयन गर्नुपर्ने बताउनुभयो।‘दलितका लागि नीति बने,कानुन बने तर,त्यसको कार्यान्वयन हुन सकेको छैन,’पत्रकार विश्वकर्माले भन्नुभयो।समग्र दलितको मानव अधिकार हनन् भएको छ।त्यसतर्फ सरकारको ध्यानाकर्षण हुन जरुरी छ।
वडा अध्यक्ष धन बहादुर पुनको अध्यक्षताबाट सम्पन्न भएको उक्त कार्यक्रममा वडा सदस्य मित्रु गिरी,राधिका बि.क,खिमा कुमारी श्रेष्ठ, वडा सचिब राम कुमार चौधरी सहित ४० जनाको उपस्थिति रहेको थियो।