राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठान उद्योग वाणिज्य संघको अध्यक्षमा शन्देस आचार्य निर्विरा्ेध चयन हुनुभएको छ । प्युठान उद्योग बाणिज्य संघको १२ औ अधिबेशनमा आचार्यको नेतृत्वमा कार्यसमिति निर्विरोध चयन भएको हो ।
संघको वरिष्ठ उपाध्यक्षमा कृष्णभक्त गिरी चयन भएका छन् ।
त्यस्तै,वाणिज्य उपाध्यक्षमा रामचन्द्र पौडेल, उद्योग उपाध्यक्ष गोविन्द कार्की,महासचिव झबिन्द्र शर्मा, उपमहासचिवमा पशुपति श्रेष्ठ र कोषाध्यक्षमा कुमार श्रेष्ठ सर्वसम्मत चयन भएको मुख्य निर्वाचन अधिकृत रामेश्वर सुबेदीले बताए ।
उहाँका अनुसार उम्मेदवारी दर्ताको क्रममा सबै पदमा एकल उम्मेदवारी मात्र परेको तथा कुनै पनि उम्मेदवारीउपर दाबी विरोध नपरेपछि निर्विरोध चयन भएको हो।
प्युठान उद्योग बाणिज्य संघमा आबद्ध भएका ब्याबसायीहरु २ हजार १ सय ४८ जनामा सदस्यहरु मध्येबाट सबै ३० पदमा एकल उम्मेदार मनोनयन भएकाले स्वतः चयन भएको जिल्ला कार्यसमितिको कार्यकाल ३ बर्ष रहनेछ।
संघको अधिबेशन अगाबै ९ वटै पालिकामा उद्योग वाणिज्य संघको इलाका अधिवेशन पनि सर्वसम्मत चुनिएको छ।
यस भन्दा अगाडी संघको महासचिव पदमा रहेर अनुभव लिइसकेका नव निर्वाचित अध्यक्ष शन्देस आचार्यले आफूले व्यापारीहरुको हक अधिकार तथा संघलाई मजबुत बनाउन सक्दो प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरे। ‘मसँग ठूलो अपेक्षा र योजना छैन, उद्योग वाणिज्य संघलाई संस्थागत रुपमा सञ्चालन गर्ने प्रतिवद्धता छ,’उनले भने,‘उद्योगी व्यवसायीको हकहितका लागि निजि क्षेत्र र राज्य पक्ष सङ्ग समन्वयमा क्रियाशिल हुँदै प्युठान जिल्लाको प्रमुख पर्यटकीय क्षेत्रको प्रवर्द्धन र यहाँको विकास निर्माणका लागि सरोकारवाला निकायहरुसंग ध्यानाकर्षण पहल र पैरवी गर्नेछौं।’उनले सबै उद्योगी व्यवसायीको राय सल्लाह अनुसार जिल्लाको आर्थिक समृद्धिमा अन्तरनिहित भइ काम गर्ने बताए।
प्रतिक्रिया राख्नुहोस्