सीता बि.क
प्युठान,लोप हुन लागेको कुसुन्डा भाषा बचाउन सरुमारानी गाउँपालिकाले चासो देखाएको छ।
पालिकाको आर्थिक सहयोगमा यही फागुन १९ गते देखि देशभरका कुसुन्डाहरुलाई एकै थलोमा राखेर १५ दिनको भाषा प्रशिक्षण दिन लागेको अध्यक्ष झग बहादुर बिश्वकर्माले जानकारी दिनुभयो।
भाषा कुनै पनि जातिको पहिचान र सभ्याताको पहिचान हो,आफ्नो भाषा बिर्सिनु त्यो जाति र राष्ट्रकै लागि ठूलो क्षति हुने भएकाले लोप हुन थालेको भाषालाई संरक्षण गर्नका लागि पालिकाले कार्यक्रम ल्याएको उहाँले बताउनुभयो।
हरेक स्थानीय सरकारले भाषा संरक्षण सम्बन्धि कानुन बनाउनुपर्ने भएकाले कुसुन्डा भाषाको संरक्षण सम्बन्धि कानुन पारित गरेका छौ,सोही अनुसार काम अगाडि बढेका छौ,उहाँले भन्नुभयो।‘भाषा कुनै जातिको मात्रै होइन सबैको साझा हो,एउटा भाषा जीवित राख्नमा सम्बन्धित समुदाय पनि जागरुक हुनुपर्ने उहाँको भनाई छ।
भाषा कक्षमा नेपालभर रहेका कुसुन्डा समुदायका प्रत्येक घरका एक जनाका दरले उपस्थिति हुने बताइएको छ।
लोपउन्मुख समुदायको भाषा,संस्कार र संस्कृति संरक्षणका लागि पालिकास्तरबाट महत्व राखेर कार्यक्रम हुन थालेको कुसुन्डा भाषाका अनुसन्धानकर्ता उदयराज आलेले जानकारी दिनुभयो। लोप हुन थालेको भाषालाई संरक्षण गर्न सबैले चासो दिएमा भाषा जीवित हुने उहाँले बताउनुभयो।
प्युठानमा कुसुन्डा समुदायको जनसंख्या न्यून र भाषा लोप हुने अवस्था छ। सरुमारानीमा ६ घरधुरी मात्र कुसुण्डा बस्ती रहेको छ।
नेपालको जनगणना २०७८ अनुसार नेपालमा कुसुन्डा जातिको कूल जनसंख्या पुरुष ११५ र महिला १३८ गरी कुल २५३ जना उल्लेख गरिएको छ । लुम्विनी प्रदेशको प्युठान जिल्लामा पुरुष १६ र महिला १५ गरी ३१ जना कुसुन्डा छन् भने दाङ जिल्लामा पुरुष १७ र महिला २७ गरी ४४ जना छन्।कुसुन्डाहरु गोरखा, तनहुँ, कपिलवस्तु, अर्घाखाँची,प्यूठान,रोल्पा, दाङ देउखुरी र सुर्खेत जिल्लामा बसोबास गरिरहेका छन् ।
प्रतिक्रिया राख्नुहोस्