सीता बि.क
प्युठान,महाशिवरात्रि पर्वका अवसरमा आज प्युठान जिल्लामा रहेका विभिन्न शिव मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।प्युठान नगरपालिका-१ बेलुवा स्थित बेलपत्रेश्वरी मन्दिरमा भक्तजनको घुइँचो लागेको हो।
२०८०सालमा स्थापना गरिएको उक्त मन्दिर धार्मिक एवं पर्यटकीय दृष्टिले महत्वपूर्ण भएकाले यहाँ श्रद्धालुको घुइँचो लागेको हो।भक्तजनले सहज रूपमा मन्दिरमा पूजा तथा दर्शन गर्न सक्ने व्यवस्था मिलाइएको छ।
यहाँ बिहानदेखि नै मन्दिर खुला गरिएको समितिका सदस्य टेकराज धामिले जानकारी दिए । उनका अनुसार यहाँ चकचके,चेरनेटा,खैरा,खलंगा,बिजुवार, क्वाडी,चितिखोला, जुम्री बिजुवार,बाग्दुला,दम्ती खप्रेङ्गखोला,मरन्ठाना र आसपासबाट भक्तजन श्रद्धालु आएका छन् । बाटोमा हिँड्ने यात्रुदेखि शिवालय मन्दिरमा दर्शन गरी फर्कने दर्शानार्थीले प्रसाद ग्रहण गरिरहेका छन्। प्रत्येक वर्ष यहाँ रातभर भजनकिर्तन र धुनी जगाउनुका साथै बिहानैदेखि पूजाआजा गर्नेको घुइँचो लाग्ने गर्दछ ।
शिवरात्रिको दिनमा भगवान् शिवको पूजाआजा र भजन कीर्तन गर्ने,उपवास बसेमा मनको कामना पूरा हुने जनविश्वास रहँदै आएको छ । भगवान् शिवलाई बेलपत्र,भाङ,धतुरो चढाउने परम्परा छ ।
हिन्दु धर्ममा ‘देवका पनि देव’ का रूपमा भगवान् शिवलाई पूजाआजा भजन कीर्तन गर्ने परम्परा रहेको छ।शिवको उत्पत्ति भएको दिनका रूपमा हिन्दूले शिवरात्रि पर्व मनाउँदै आएका पौराणिक कथन रहेको छ ।
यस्तै महाशिवरात्री पर्वका अवसरमा प्युठान नगरपालिका ९ मरन्ठाना रातपहरा स्थित शिव मन्दिरमा पनि पूजाआजा र दर्शन गर्नेहरूको घुइँचो लागेको बताईएको छ ।
प्रतिक्रिया राख्नुहोस्