सीता बि.क
प्युठान,अर्घाखाँची जिल्लाको नेवार समुदायमा प्रचलित ऐतिहासिक एवं मौलिक ‘भैरव नाच’ प्युठानमा प्रदर्शन गरिने भएको छ। लोप हुने स्थितिमा रहेको सो नाचको संरक्षण र प्रवर्द्धनका निम्ति प्युठानमा प्रदर्शन गर्न लागिएको हो।
लायन्स कल्व अफ प्युठानको आयोजना तथा प्युठान नगरपालिका वडा नम्बर ३ र ४ को सहयोगमा भोलि असोज ६ गते साँझ प्युठान नगरपालिका वडा नम्बर ४ जुम्री बसपार्क मा प्रदर्शन गरिन लागेको लायन्स क्लव अफ प्यूठानका रिजनल चियर पर्सन अर्जुनकुमार कक्षपतिले जानकारी दिनुभयो।आम नेवार समुदायको पहिचानका रुपमा रहेको यो नाचको प्रस्तुति नेवाः समाज अर्घाखाँचीले प्युठानमा आएर दिन लागेको र यसको व्यवस्थापन आफूहरुले गरेको कक्षपतिको भनाई छ।
नेवार समुदायको मौलिक नाचका रुपमा रहेको यो नाच अर्घाखाँचीमा कहिलेदेखि शुरु भयो त्यसको एकिन तथ्य नभए पनि पुस्तौदेखि यो नाच नाच्ने क्रम रहेको नाच कक्षपतिले बताउनुभयो।
धार्मिक आस्था एवम् रोचक भए पनि नयाँ पुस्ताको चासो घट्दै जाँदा यो नाच लोप हुने स्थितिमा रहेको छ। अघिल्लो पुस्ताको तुलनामा अहिलेको पुस्तासम्म आइपुग्दा यसको सौन्दर्य एवम् तालको मिठासमा कमि आइरहेको सन्दर्भमा यसको संरक्षण र प्रवर्द्धन नभए आउँदो पुस्ताका निम्ति यो नाच कथाजस्तै हुने नेवार समुदायका जानकार बताउँछन।
भैरव नाचको पृष्ठभूमि
तान्त्रिक विधिसहित नाचिने भैरव नाच नेवार बाहुल्य समाजमा प्रचलित रहँदै आएको छ। भिन्न परिवेश र भिन्न रहन सहनमा हुर्किएका नेवार समुदायबीच नाचको शैली पनि भिन्न प्रकारको देखिने गरेको छ।भैरव नाच पश्चिम नेपालका अर्घाखाँची,पाल्पा,बाग्लुङ,दैलेख लगायतका क्षेत्रमा नाचिने यो नाचको शैली भिन्न भिन्नै छ।विशेषगरी अर्घाखाँचीको भैरव नाच स्थानीय चलनचल्तीमा भैरव नाच जिल्लाभित्र मात्रै होइन छिमेकी जिल्ला गुल्मी,प्युठान,पाल्पा,कपिलवस्तु, रुपन्देही लगायतका क्षेत्रमा पनि लोकप्रिय छ।भैरव नाच श्रीकृष्ण जन्माष्टमीको दिन शुरू गरी कार्तिक औंशीसम्म नाचिन्छ(देउसी,भैलीको मादल बज्नु अगाडि यस नाचलाई विसर्जन गर्नुपर्छ भन्ने स्थानीय मान्यता छ)त्रान्त्रिक विधिबाट शुरु गरिने यो नाच रातको समयमा विशेषगरी सूर्य अस्ताएपछि सूर्योदयअघिसम्म स्थानीय चलनअनुसार विहान भाले बास्नु अघिसम्म नाच्ने गरिन्छ। कथंमकदाचित नाच्दै गर्दा उज्यालो भयो, खोला तरेर अन्यत्र गाउँमा गई नाच्नुपर्यो भने बोकाको बली दिनुपर्छ भन्ने मान्यता रहेको छ।
नाचका विशेषता
भैरव नाच सात ताल (पटक) सम्म नाचिन्छ, सामान्यतया एउटा ताल २० मिनेटको हुन्छ, बीचमा छोटो विश्रामपछि पुनः शुरु हुन्छ। यसमा काल भैरव मुख्य हुन्छ भने श्वेतभैरव र रातो भैरव सहायक हुन्, साथमा डंकिनी पनि हुन्छ।
यस नाचका नर्तकहरु जो भैरवको स्वरुपमा हुन्छन् उनीहरुलाई भगवानको प्रतिकका रुपमा पूजा गरिन्छ।यद्यपि,डंगिनीलाई पनि पूजा गरिन्छ। डंगिनी नारी स्वरुपको हुन्छ। पुरुष नर्तक महिलाको भेषमा श्रृंगार गरेको हुन्छ। यसको स्पष्ट स्वरुप नखुले पनि भैरव नाचको अभिन्न अंगगका रुपमा रहँदै आएको छ। तीन वटै भैरवहरु आफ्नो भूमिका अनुसारका रङमा ख्वापः (खप्पर),कपडा,चअर(चौरी गाईंको पुच्छर),मालासहित श्रृंगार गरी भगवानको विशाल आकृति निर्माण गरिन्छ।तान्त्रिक विद्यामा निपूर्णहरुलाई विशेषगरी पाँच ताल र छ तालमा भैरव उत्रिन्छ। (काम्न शुरु हुन्छ, ताल सकिएपछि आफैं शान्त हुन्छन्) यसरी काम्ने दर्शक पनि हुन सकछन्, नर्तक पनि हुन सक्छन्। भैरव नाचको तान्त्रिक पूजा विधिमा गल्ती भए यसले क्षति पनि पुर्याउँछ भन्ने जनविश्वास भएकाले यो नाचप्रति धेरै सचेत हुन्छन्।
धार्मिक जनविश्वास
नेवार समुदायमा भैरवको भाकल गर्ने चलन पनि छ। जस्तै कसैको सन्तान प्राप्ति, कुनै ‘फल’ प्राप्ति वा लक्ष्य पूरा गर्न भैरवलाई बलीसहितको पूजा वा भेटी चढाउने परम्परा रहेको छ।
लोप हुँदै नाच
भैरव नाच कहिलेदेखि शुरु भयो भन्ने एकिन तथ्य हामीले अहिलेसम्म भेट्टाएका छैनौ। तर, काठमाडौं उपत्यकामा मल्लकाल त्यसअघिदेखि नै शुरु भएको हुन सक्ने जनविश्वास रहेको पाइन्छ। विगतमा नेवार समुदायमा भएको बसाई सराईको क्रमसँग यो नाचको प्रचलन पनि देशका विभिन्न क्षेत्रमा पुगेको हुनसक्छ। तर, अहिले ग्रामीण क्षेत्रमा अर्को बसाई सराई समस्या निम्तिएको छ।
गाउँबाट शहरमा बसाई सराई गर्ने, रोजगारी अध्ययन र अन्य पेसा व्यवसायका कारण आफ्नो थातथलो छोडेर शहरतिर हिँड्ने प्रचलन व्याप्त रहेको छ। एकातिर गाउँमा मान्छे विशेषगरी युवापुस्ताको अभाव र अर्कोतिर लामो समयसम्म नाच सञ्चालन गर्नुपर्ने भएकाले आर्थिक समस्या प्रमुख पाटोका रुपमा रहेको छ। पुरानो पुस्ता घट्दै जाने र नयाँ पुस्ताले यसप्रति चासो नराख्दा यो नाच लोप हुँदै गएको छ।
आजभन्दा ५० वर्ष अगाडिको नाचको शैली अहिलेको शैलीमा आधुनिकताको प्रभाव परेको प्रष्टै देखिन्छ। यसले आफ्नो मौलिकता गुमाउने हो कि भन्ने चिन्ता र चुनौती दुवै छ।
प्रतिक्रिया राख्नुहोस्