राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठान नगरपालिकाले आफ्नो क्षेत्र भित्र प्लास्टिकका फुल,मालालाई प्रतिबन्ध लगाउँदै प्राकृतिक फूलमाला प्रयोग गर्न आग्रह गरेको छ।
फूल उत्पादनमा लागेका व्यवसायीलाई प्रोत्साहनसँगै प्लास्टिक सामग्रीलाई निरुत्साहित गर्न प्युठान नगरपालिकाले मङ्गलबार भाद्र १७ गते सार्वजनिक सूचना जारी गर्दै चाडपर्व र विभिन्न कार्यक्रममा प्लास्टिकका फूलका मालाको प्रयोगलाई प्रतिबन्ध गरेको हो।
प्युठान नगरपालिका अन्तर्गत विभिन्न बजार क्षेत्रमा प्लास्टिकका माला आयत,बिक्री बितरण तथा प्रयोग गरेको पाइएमा कानून बमोजिम कारबाही हुने समेत चेतावनी दिएको छ।
प्यूठान नगरपालिका मार्फत प्रदुषण नियन्त्रण तथा स्थानीय कृषकहरुले उत्पादन गरेका फूलहरुलाई प्रोत्साहन गर्ने उदेश्यले प्युठान नगरपालिका भित्र प्लाष्ट्रिकका मालालाई प्रतिबन्ध गरिएको सूचना
प्युठान नगरपालिका नगर प्रवक्ता सुमन श्रेष्ठले वातावरणीय रूपमा प्लास्टिक मालाले प्रदूषण गर्ने र स्थानीयस्तरमा कृषकले उत्पादन गरेका फूलले बजार नपाउने भएका कारण पालिकाले प्लास्टिक मालालाई प्रतिबन्ध गरेको बताउनुभयो ।
‘घर आँगनमै उत्पादन हुने मखमली,सयपत्रीलगायत फूलका मालाको प्रयोगलाई बढावा दिन प्लाष्टिकबाट बनेका माला बिक्री वितरणमा रोक लगाएका छौं प्रवक्ता श्रेष्ठले भन्नुभयो, “यस कार्यबाट फूलको व्यवसायिक खेती गर्ने किसानलाई हौसला मिल्छ र खेती गर्दै आएका किसानलाई बजारको अभाव हुदैन।’
‘फूल खेतीमा संलग्न किसानलाई यस कार्यले प्रोत्साहन गर्छ’ उहाँले भन्नुभयो,‘विकल्प हुँदा हुँदै मानव स्वास्थ्यमा नराम्रो असर गर्ने,वातावरणीय प्रदूषणलाई बढावा दिने प्लाष्टिकबाट बनेका मालालाई निरुत्साहित गर्न बिक्री वितरणमा रोक लगाएका हौँ।’
यो बर्ष प्लाष्टिकबाट बनेका माला बिक्री वितरणमा रोक लगाउने जिल्लाकै पहिलो स्थानीय तह प्युठान नगरपालिका रहेको छ । उता स्थानीय तहको निर्णय सङ्गै फूलको व्यवसायिक खेती गर्दै आएका किसानले नगरपालिकाले निकालेको सुचनाले आफुहरुलाई कत्ति पनि सहयोग नपुग्नेमा ढुक्क छन्।प्युठान नगरपालिका–४ का पुष्प व्यवसायी राधा अधिकारीले स्थानीय सरकारको निर्णयले आफू उत्साहित नभएको बताउनुभयो।
गत बर्ष ५ रोपनी क्षेत्रफलमा लगाएको उत्पादित करिब १ ट्रक सयपत्री फूल सुकेर जादा सम्म स्थानिय सरकारले कुनै वास्ता नगरेको बताउनुभयो।
अधिकारीले भन्नुभयो– ‘दुई तीन सय पर्ने माला १ सय रुपैयाँमा बेच्छु भन्दा पनि ग्राहक पाएको थिएन।
उहाँले गुनासो गर्दै भन्नुभयो–‘ गत बर्ष प्राकृतिक माला खपतमा स्थानिय सरकारले कत्ती पनि ध्यान दिएन, भात पकाएर खान भएन,तरकारी पकाएर खान भएन त्यसैले यो बर्ष ३ रोपनीमा मात्र फुल रोपेको उहाँको गुनासो छ।
प्रतिक्रिया राख्नुहोस्