राम बहादुर बिश्वकर्मा
प्युठान,करदाता शिक्षा चेतनाका लागि सुझाव संकलन गर्न १ दिने अभिमुखिकरण कार्यक्रम गरिएको छ।
प्युठान नगरपालिका राजश्व शाखाको आयोजना तथा प्युठान नगर उद्योग वाणिज्य संघको समन्वयमा नगरबासी करदातालाई करमैत्री बनाउन उनीहरूले चाहेको करदाता शिक्षा बारे उनीहरूसँगै सुझाव लिएर अगाडी बढ्ने उद्देश्यले आइतबार जुम्रीमा उक्त अभिमुखिकरण आयोजना गरिएको हो।
कार्यपत्र प्रस्तुत गर्दै कर कार्यालय प्युठानका प्रमुख उपेन्द्र पुनले सरकारले उठाउनुपर्ने कर समयमै उठोस् र करदाताले पनि समयमै कर तिरेर हर्जना र जरिवाना नपर्ने गरी मासिक विवरण बुझाउन आग्रह गर्नुभयो। कार्यक्रममा व्यवसायी तथा उद्योगीहरुलाई कर तथा राजस्व सम्वन्धी जानकारी र आन्तरिक राजस्व कार्यालयमा बुझाउनुपर्ने कागजात चुस्तदुरुस्त राख्ने,कुन–कुन शीर्षकमा कति-कति कर लाग्छ, बिल,भर्पाइको भुक्तानीमा लाग्ने करका दरबारे पनि उहाँले जानकारी गराउनुभयो।
कर नीति,करका दर र छुट सुविधा सम्वन्धी शिक्षण दिइएको थियो।
प्युठान नगरपालिका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद भण्डारीले अभिमुखिकरणले करदाताको चेतनामा अभिवृद्धि गर्ने बताउनुभयो।
ब्यबसायीले समयमै कर तिरेर अनावश्यक आर्थिक भारबाट जोगिएर पारदर्शी तवरले ब्यबसाय सञ्चालन गर्नुपर्ने प्रमुख प्रशासकिय अधिकृत भण्डारीको धारणा थियो। राजश्व परामर्श समितिका संयाेजक तथा नगर उपप्रमुख देवेन्द्र वर्माले नगरबासी ब्यबसायीले करका नीति र ऐन नजानेका कारण समयमा विवरण बुझाउन ढिलाइ भएको भन्दै कर कार्यालयले करदातालाई केन्द्र विन्दुमा राखी कर नीति र प्रक्रियामा सहजीकरण गर्ने,कर सम्बन्धी जागरण ल्याउने,करको दायरा थप बिस्तार हुने तथा गुणस्तरीय सेवा प्रवाहका लागि स्वेच्छिक कर सहभागिता गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो। नगरबासी ब्यबसायिको प्राप्त सुझावलाई ग्रहण गर्दै नगरपालिका अगाडी बढ्ने उपप्रमुख वर्माले प्रतिवद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा उपस्थित व्यवसायीले सरकारले कुन कानुनमा आधारित भएर कर तिर्ने भनेर व्यवसायीलाई प्रस्ट्याउन नसक्दा कर कसरी तिर्ने भन्नेमा अन्योलता बढेको गुनासो व्यक्त गरेका छन् । अभिमुखिकरणमा करिब १ सय ५० करदाता सहभागीता रहेको थियो।
प्रतिक्रिया राख्नुहोस्