प्रकाश बैद्य
प्यूठान ,प्युठान नगरपालिकाले दादुरा रुबेला खोप अभियान सफल पार्न हिजो मंगलवार अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
दादुरा रुवेला खोप अभियान २०८०/०८१ सफल पार्न स्थानीय तह स्तरीय खोप समन्वय समितिको बैठक तथा सञ्चारकर्मीहरु संग नगरपालिकाको सभाहल विजुवारमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको हो।नगर उप–प्रमुख देवेन्द्र बर्माको अध्यक्षतामा भएको कार्यक्रममा प्यूठान नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गोबिन्दराज घिमिरेले राष्ट्रिय खोप कार्यक्रमका उद्देश्य,औचित्य र चुनौती तथा नगर क्षेत्र भित्र खोप अभियान सञ्चालनका लागि नगरपालिकाको कार्य योजनाको साथै दादुरा विग्रदा हुन सक्ने विभिन्न रोगहरुका बारेमा जानकारी गराउनु भएको थियो।
प्रत्येक बालबालिकाहरुलाई बच्चा जन्मे देखि नै खोप दिन सुरु गरीने भएकाले बच्चाले नियमित खोप सात पटकमा नौ वटा खोप पाउने जसवाट १३ प्रकारका रोगवाट बँच्न सकिने शाखा प्रमुख घिमिरेले बताउनुभयो।नियमित खोप लगाउदा लगाउदै पनि बच्चाहरु छुट्ने सम्भावना पनि रहेको हुँदा त्यसरी छुटेका बच्चाहरुबाट भविष्यमा महामारी फैलन सक्ने जोखिम हुने भएकाले अभियानमा सवैलाई पहिलो खोप लगाएका पनि,छुटेका पनि खोजेर खोप लगाइने कार्यक्रम रहेको जसवाट बच्चाहरु खोप पाउनबाट बञ्चित हुन नपर्ने समेत शाखा प्रमुख घिमिरेले जानकारी गराउनु भयो। फागुन १३ गते देखि १८ गते सम्म प्यूठान नगरपालिकाका दश वटा वडा भित्र रहेका ४२ओटा खोप केन्द्रमा ९ महिना देखी ५ वर्ष मुनिका बालबालिकाहरुमा दादुरा रुबेला खोप अभियान सञ्चालन गरिने स्वास्थ्य शाखा प्रमुख घिमिरेले बताउनुभयो ।
कार्यक्रममा बोल्दै उप–प्रमुख देबेन्द्र बर्माले खोप अभियान सञ्चालनमा सबैले आ–आफ्नो क्षेत्रबाट सकरात्मक सुचना प्रवाह गर्न आग्रह गर्नु भयो।यो खोप बालबालिकाहरुको लागि हुने भएकाले संचारकर्मी, बिद्यालयका शिक्षक शिक्षिका,अभिभावक,जनप्रतिनिधिहरु सवैले अभियानमा हातेमालो गरेर खोपबाट कोही पनि बन्चित नगराउन समेत उप–प्रमुख बर्माले अनुरोध गर्नुभयो।
प्यूठान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद भण्डारी,वडा अध्यक्षहरु,कार्यपालिका सदस्यहरु,विभिन्न विद्यालयका प्रधानाध्यापकहरु,सञ्चारकर्म,स्थानीय संघ संस्था,बालक्लव प्रतिनिधि लगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन प्यूठान नगरपालिका स्वास्थ्य शाखामा कार्यरत सि.अनमी निरीक्षक वसन्ता कुमारी अधिकारीले गर्नु भएको थियो ।
प्युठान नगरपालिकाले नगरभित्रका तीन हजार चार सय अन्ठानब्बे जनालाई दादुरा रुबेला खोप दिने लक्ष्य लिएको जनाएकोछ ।
प्रतिक्रिया राख्नुहोस्