सेल्फी खिच्दै मल्लरानीमा 'जिपलाइन' सरर-मनै हरर..

सीता बि.क
प्युठान,आहा! क्या मज्जा !करिब ४० सेकेन्ड हावामा उडेपछि स्टेसनमा उत्रिँदा हरेकको मुखबाट यही वाक्य निस्कन्छ,‘आहा,क्या मज्जा !’प्युठानको सदरमुकामबाट ठ्याक्कै ४ किलोमिटरको दूरीमा पर्छ,मल्लरानी डाँडा।खलंगा देखि अर्घाखाँची जाने सडक हुँदै मल्लरानी पुग्दा सडकबाटै रोमाञ्चक दृश्य देखिन्छ,जसले हरेकलाई टक्क अडिएर हेर्न बाध्य पार्छ।डोरीमा झुन्डिएर पंक्षिझैँ हावामा सरर उढेका मान्छेले चकित पार्छन् ।तिनै मान्छे ४० सेकेन्डमै उढ्दै जब स्टेसनमा पुग्छन्,त्यसपछि उही वाक्य दोहोर्‍याउँछन्,‘आहा, क्या मज्जा !’
त्यस्तै प्युठानका पत्रकार राम बहादुर बिश्वकर्माले मल्लरानी पुगेर जिपलाइनको मज्जा लिए। 
पैरवी अनलाइन डटकमका सम्पादक समेत रहेका बिश्वकर्मा रिपोर्टिङको लागि यहाँ पुगेका थिए।जिपलाइन उडानको मज्जा लिएर फर्किएका उनले रोमाञ्चित भावमा भने,‘यो मेरा लागि नौलो अनुभव हो।सुरुमा निकै डर लाग्यो, तर बिस्तारै रमाइलो लाग्न थाल्यो। फेरि खेल्ने सोचमा छु।’ उनका अनुसार निजि क्षेत्र बाट गरिएको सुरुवात अत्यन्तै सकारात्मक भएको भन्दै जिल्लामा पर्यटकिय पुर्वाधारहरु आवश्यक होटल,सडक,सुरक्षा र साहसिक खेलहरूमा लगानी बढाउन सके पर्यटक बढाउन सकिन्छ।“पर्यटक वृद्धि गर्नेतर्फ स्थानीय सरकारको नीतिको पनि उत्तिकै आवश्यक छ।”उनले भने“यस जिल्लाका स्थानीय सरकारले पर्यटकीय संरचनाहरुको निर्माणसँगै पर्यटक वृद्धिमा पनि ध्यान दिन जरुरी छ।” 
मल्लरानी,जिल्लाकै अत्यन्तै प्राकृतिक मनमोहक ठाउँ हो। मल्लरानीको यही प्रकृति एवं मौसमको यही विशेषताले गर्दा नै  आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गर्छन् ।
प्राकृतिक वातावरण,मल्लरानी चढेर बिजुवारको फाट हेर्दै आएका पर्यटकहरुलाई जिपलाइनमा उड्ने सुविधा थपिएको छ।‘‘प्युठानलाई चिनाउने त पहिल्यै पनि अनेक क्षेत्र थिए,पछिल्लो समय यहाँ जिपलाइन पनि थपिएको छ,अब यसका लागि पनि आन्तरिक तथा बाह्य पर्यटक यहाँ आउन थालेका छन्।मल्लरानी गाउँपालिका–४ मा अवस्थित छ,मल्लरानी।यही डाँडामा डरलाई रोमाञ्चक यात्रामा बदल्ने गरी साहसिक पर्यटकीय प्रडक्ट ‘जिपलाइन’ सञ्चालनमा आएको छ ।यसलाई पालेवन सामुदायिक बन उपभोक्ता समूह र मल्लरानी धाइरेचौर सामुदायिक बन उपभोक्ता समुहको सिफारिसमा मल्लरानी टुरिजम इन्भेस्टमेन्ट प्रा लि ले सन्चालनमा सञ्चालनमा ल्याएको हो।
फलामको लठ्ठा (डोरी)मा घिर्नीका माध्यमबाट‘हार्नेस’लगाई झुन्डिएर गरिने साहसिक खेल हो,जिपलाइन।

फलामे डोरीको सहायताले हावामा चिप्लिने यो खेल अन्य साहसिक खेलको तुलनामा सुरक्षित मानिन्छ । उपकरण तथा प्रयोग हुने सामग्री दुरुस्त राखिँदा जिपलाइनमा दुर्घटनाको सम्भावना न्यून हुन्छ। बन्जी,स्काइडाइभ जस्ता‘एस्ट्रिम एड्भेन्चर’खेलभन्दा जिपलाइन सहजै आँट गर्न सकिने साहसिक खेल हो। 
कम तौल तथा विपरीत दिशाबाट बहने वायुको चापका कारण कुनै यात्रु सीधै बटम स्टेसन नपुग्न सक्छन् ।त्यस्तो अवस्थामा बटम स्टेसनमा रहेका प्राविधिकले डोरीको सहायतामा खेलाडीलाई तानेर अवतरण गराउँछन् । 

सीधै यात्रा पूरा गर्नेभन्दा बीचमा रोकिने यात्रु भाग्यमानी मानिन्छन् ।किनकि,उनीहरूले बीचमा रोकिएर तल देखिने घना जंगल,बस्ती र प्राकृतिक सुन्दरताको दृश्यावलोकनका अतिरिक्त सुविधा प्राप्त गर्छन् । 

यो सबै उमेर समूहका लागि होइन ।१३ वर्षभन्दा माथिका व्यक्तिले मात्र यसको मजा लिन पाउँछन् । त्यस्तै,५० किलोभन्दा कम तौलका व्यक्तिलाई पनि कपलमा यात्रा गर्न प्रेरित गरिन्छ । किनकि, तौल कम भएकाले बीचमै रोकिने हुन सक्छ । बालबालिकाका लागि भने यहाँ छुट्टै पार्क निर्माणको काम भइरहेको छ। 

पालेवन सामुदायिक बन उपभोक्ता समूह र मल्लरानी धाइरेचौर सामुदायिक बन उपभोक्ता समुहको सिफारिसमा मल्लरानी टुरिजम इन्भेस्टमेन्ट प्रालि को सहजीकरणमा जिपलाइन सन्चालन भइरहेकोप्रालिका अध्यक्ष इमानसिह भारतीले जानकारी दिए।उनका अनुसार यहाँ तीन प्रकारको सुविधा छ जस्तै बिहानको समयमा ८००,१० जना बिध्यार्थिको समुहमा आउनेलाई २० प्रतिशत छुट,दिउँसो देखि साझ सम्म १ हजार शुल्क तोकिएको छ।मल्लरानीमा लामो समय अध्ययन गरेर करिब रु १ करोड लगानीमा जिप लाइनको शुरुआत गरिएको हो।
अझ यसको विस्तार र खेलको माध्यमबाट कसरी पर्यटक भित्र्याउन सकिन्छ भन्ने उद्देश्यले विभिन्न निकाय सँग सहकार्य गरिएको उनले बताए। ‘‘मल्लरानी अब  पर्यटकीय गन्तव्य मात्र रहेन हामी यसलाई साहसिक खेल पर्यटकीय गन्तव्य पनि बनाउन अग्रसर भएका छौँ,यसमा निजी क्षेत्रको ठूलो योगदान रहेको छ।’’

जिपलाइनमा टेकअफ पोइन्टदेखि ल्याण्डिङ पोइन्टसम्म आइपुग्न करिब ४०-४५ सेकेण्ड लाग्ने र सुरु देखि अन्तिम सम्मको दुरी ७ सय मिटर रहेको छ।
तारको क्षमता ३० टन भारको छ, भने सेफ्टी बेल्ट (हार्नेस)२५ देखि २७ सय केजी भार र क्याराविनरको भार क्षमता पनि २७ सय केजी सम्मको रहेको कम्पनीले बताएको छ ।

साहसिक पर्यटकहरुको रु पाँच लाखको बीमा पनि भएकाले सुरक्षाको कुनै चिन्ता लिन नपर्ने सञ्चालक बताउछन्।पर्यटकीय मल्लरानी पछिल्लो समय साहासिक खेल पर्यटनको केन्द्र बन्दै गएको छ । 
जिपलाइनमा डोरीमा घिर्नीको सहायताले झुन्डिएर एक ठाउँबाट अर्को ठाउँमा पुगिन्छ। 
स्थानीय निकाय र सरकारले यसको प्रचार र आवश्यक भौतिक सुविधाको व्यवस्था गरे यो साहसिक खेल खेल्न पर्यटकहरुको घुईँचो लाग्ने जानकार हरु बताउँछन।