अवकाश प्राप्त प्रहरी कर्मचारीहरूलाई कृषि तालीम दिदै : जिल्ला प्रहरी कार्यालय प्युठान

अवकाश प्राप्त प्रहरी कर्मचारीहरूलाई कृषि तालीम दिदै : जिल्ला प्रहरी कार्यालय प्युठान

राम बहादुर बिश्वकर्मा
प्युठान,कुनै पनि आपराधिक क्रियाकलापको अनुसन्धान गरी निष्कर्षमा पुऱ्याउने काम प्रहरीको हो।कानुनको निर्माण संसदले गरे पनि उक्त कानुनको कार्यान्वयन गर्ने गराउने काम प्रहरीबाटै शुरु हुन्छ। मुलुकमा कानुनी शासन कायम गर्न अन्य धेरै निकायको भूमिका भए पनि प्रहरी सङ्गठन यसको प्रमुख अङ्ग हो। तर,जिल्ला प्रहरी कार्यालय प्युठानले अबकास प्रहरी खोज्दै विभिन्न बस्तिमा पुगेर एक फरक कार्यको थालनी गरेको छ।जिल्लाका बिकासे कार्यालय सँग समन्वय गर्दै गत कार्तिक १७ गते प्युठान नगरपालिका वडा नम्बर २ चितिखोलाबाट अवकाश प्राप्त प्रहरी कर्मचारीहरूको मनोसामाजिक स्वास्थ्य प्रवर्द्धन र आर्थिक सबलिकरण गरी मनोबल अभिवृद्धि गराउने उदेश्यले कृषि सम्बन्धि तालिम तथा अभिमुखिकरण कार्यक्रम सन्चालन गर्दै आएको छ।
यसैबीच शुक्रबार प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन एकाई प्युठान र एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय प्युठानको सहयोग तथा समन्वयमा प्युठान नगरपालिका वडा नम्बर ९ र १० मरन्ठानामा पुगि अबकास प्रहरी कर्मचारीलाई स्थलगत कृषि तालिम प्रदान गरिएको हो।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वर थापाले सेवानिवृत्त जीवनमा सक्रिय जीवनशैली,पारस्परिक सद्‍भाव र सामुहिक सहकार्यले जीवनस्तर सबल हुने र मनोसामाजिक स्वास्थ्यमा सकारात्मक प्रभाव पर्न गई अवकाश प्राप्त प्रहरी कर्मचारीहरुको व्यक्तिगत तथा पारिवारिक जीवनमा उल्लेखनीय सुधार हुने धारणा व्यक्त गरेका थिए।
उक्त अवसरमा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन एकाई प्युठानका कार्यालय प्रमुख चुमान सिंह गिरी र एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय प्युठानका कार्यालय प्रमुख उमेशचन्द्र श्रेष्ठले व्यवसायिक कृषि,दर्ता प्रक्रिया,नेपाल सरकार एवं प्रदेश सरकारले कृषकहरुका लागि प्रदान गरेका अनुदानहरुका सम्बन्धमा प्रशिक्षण प्रदान गरेका थिए।प्यूठान नगरपालिका वडा नम्बर ९ सभाहलमा उक्त तालिम/अभिमुखिकरण कार्यक्रम गरिएको थियो ।
प्युठान नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष एवं नेपाल पूर्व प्रहरी जिल्ला कार्यसमिति प्युठानका अध्यक्ष मोहन सिंह बिष्ट को अध्यक्षता बाट सुरु भएको कार्यक्रममा प्युठान नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष बिकास के सि,सोही वडाका निबर्तमान वडा अध्यक्ष नेहरसिह के सि,प्युठान नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष लोक बहादुर के सि लगायतको उपस्थिती रहेको थियो। 
उक्त कार्यक्रममा उपस्थित अवकाश प्राप्त प्रहरी कर्मचारीहरूलाई प्युठानी रातो मुलाको बिउ र रोग नियन्त्रणका लागि बिसादी समेत वितरण गरिएको थियो।
अबकास पश्चात् राज्यका कुनै पनि निकायले आफुहरुलाई वास्ता नै नगरेको गुनासो गरेका अबकास प्राप्त प्रहरी कर्माचारीले यो अहिलेको प्रहरी नेतृत्वले नयाँ कार्यको सुरुवात गरेको भन्दै खुलेर प्रसंशा गरेका छन्।