सीता बि.क
प्युठान,यस पालिको दशै सप्तमीको दिन नवपत्रीका सहित भित्राइएको फूलपातीलाई वाजागाजा र सराय नाच सहित विसर्जन गरि विधिवत रुपमा समापन भएको छ।
एकादशी देखि कोजाग्रत पूर्णिमा सम्ममा फूलपाती विसर्जन भएसँगै दशै समाप्त भएको मानिन्छ।
कोजाग्रत पुर्णिमाको अवसरमा जिल्लाको प्युठान नगरपालिका वडा नम्बर ३,जुम्री,वडा नम्बर ७ पुण्यखोला र वडा नम्बर ९ मरन्ठाना बुढादेबी लगाएतका स्थानहरूमा तरवार नचाएर सराए नाच निकालिएको हो।
पुर्खाले चलाएको सराय नाचलाई जिवितै राख्न यहाँका युवाहरुले पनि अग्रसरता देखाएका छन्।सराय नाच हेर्न तथा नाच्नका लागी उक्त स्थानमा हजारौंको संख्यामा स्थानियको भिड लागेको थियो।देवि भगवतीको विजयको उत्सवका रुपमा खेलिने सरायनाच आधुनिकता सँगै लोप हुन लागेकाले नेपाली संस्कार तथा संस्कृतिलाई संरक्षण गर्ने उदेश्यले निकालिएको आयोजकको भनाई छ।कोजाग्रत पुर्णिमाका दिन विभिन्न स्थानमा रहेका कोटघर,देविको मन्दिरमा सराय नाच नाचिने परम्परागत प्रचलन रहेको छ । सराय नाचमा युवापुस्ताले पनि निकै रुचिका साथ सहभागिता जनाएका थिए।
नेपालको पश्चिमी क्षेत्रका प्युठान,अर्घाखाँची लगायतका जिल्लाहरुमा सराय नाच एक लोकप्रिय नाचका रुपमा रहेको छ।तर पछिल्लो समयमा युवा पुस्ताले यो नाचलाई वेवास्ता गर्दा केही ठाउँमा सराय नाच लोप हुने अवस्थामा पुगेपनि अधिकांस स्थानमा यसको आकर्षण वढदो क्रममा रहेको पाइन्छ।
सरायको अर्थ‘‘चुचुरो अर्थात डाँडा माथिको समथर भुभाग”भन्ने हुन्छ।चुचुरो अर्थात् डाँडामाथि कोटमा शत्तीपिठका मन्दिर हुने र ऐतिहासीक हात हतियार को भण्डार पनि कोटको मन्दिरमा हुने हुँदा कोट नजिकै रहेको सराय वा विजय उत्सवको नाच खेलिने सांस्कृतिक परम्परा रहेकाले यस नाचलाई सराय नाच भन्ने गरिएको पाका पुस्ताहरुले वताउँछन्।‘‘सराय”शव्दलाई वृहत नेपाली शव्दकोषमा यात्री वस्न वा विश्राम गर्न वनाइएको सत्तल,विशेष पर्वका दिन मन्दिर भित्रका खुकुरी,तरवार आदी हतियार हातमा लिई नचाउँदै वाजाको तालमा नाच्दै देखाउने प्युठान जिल्लाको एक प्रसिद्ध जात्रा पनि भनिएको छ। भुरे टाकुरे राजाहरुको पालामा प्युठान,गुल्मी,अर्घाखाँची र पाल्पा जिल्लालाई ऐतिहासिक र सांस्कृतिक राज्यको रुपमा लिईएको छ। त्यसवेलाका राजाहरुले स्थापना गराएको शक्तीपिठ वा कोट मन्दिरवाट विजयादशमीको अवसरमा सराय नाच नाच्न लगाउने गरेको इतिहास भेटिन्छ।खड्ग जुधाउने परम्परा,पञ्चवली प्रथा र सराय नाच अझ लोकप्रिय मानिन्छ।
सराय नाचमा प्रयोग हुने‘‘वाक्खै”शव्द मगर भाषावाट आएको वुढापाकाहरु वताउँछन्। नेपाली शव्दकोषमा यसको शाव्दीक अर्थ भेटिँदैन तर विज्ञहरुको भनाईमा वाक्खै को अर्थ ‘‘त्यो कहाँ छ?त्यस्लाई नछोडौँ।”भन्ने भाव भेटिएको छ। वाजा गाजा सहितको तालमा वाक्खै वाक्खै भन्दै खुँडा जुधाएर उक्त नाच नाच्दा आफूमा साहस र वीरताको अनुभव हुने वताइन्छ।
सराय नाचले टाढाटाढा रहेका आफन्त तथा साथीसँगी सबैलाई एकै ठाउँमा भेला गराई आपसी सद्भाव मेलमिलाप तथा भ्रातृत्वको सम्बन्ध स्थापित गर्दै आपसमा सुखदुःखका भावना साटासाट र भाइचाराको सम्बन्ध प्रगाढ बनाउने कडीका रुपमा सराय नाचले मद्दत पुर्याएको छ।

प्रतिक्रिया राख्नुहोस्