राम बहादुर बिश्वकर्मा
प्युठान,एक जमाना थियो- महिलाले बाजा बजाउनु त के छोए पनि 'पाप' लाग्छ भन्ने अन्धविश्वास यत्रतत्र, सर्वत्र थियो । उसबेला न महिलाले आफैं बाजा बजाउने आँट गरे न पुरुषले नै बाजा छुन तथा बजाउनमा महिलालाई सहयोग गर्न अघि सरे।अब समय उही रहेन,एकताका बाजा छुन नपाउने महिलाहरु बाजा बजाउन मात्रै होइन बाजाको संरक्षणमा समेत कम्मर कसेर लागि परेका छन्।
बुधबार अन्तर्राष्ट्रिय नारी दिवश प्युठान नगरपालिका वडा नम्बर ९ मरन्ठाना स्थित बाल बिध्या मा बि मजुवाको प्राङ्गणमा एउटा कार्यक्रम थियो। प्युठान नगरपालिका वडा नम्बर ९ बेवरे बाट आएका दर्शकका अगाडि बजेको नौमती बाजाले सबैको ध्यान खिच्यो। त्यतातिर नजर लगाउँदा त सबै जना तीन छक्क परे।
गलामा बाजा भिरेर बाजा बजाउँदै अगाडि बढ्दा फोटो र भिडियो खिच्नेको भीड नै देखियो। वृद्धादेखि युवा उमेरसम्मका महिलाहरु हातमा नर्सिङ्गा,सहनाई,दमाहा, ढोलकी, ट्याम्को र झ्याली लिएर नौमती बाजा बजाउँदै नाच्दै अघि बढ्दा त्यहाँको माहोल फेरियो।
यी महिला हुन प्युठान नगरपालिका वडा नम्बर ९ मरन्ठाना बेवरेमा बाजा बजाउन सिक्दै गरेका तालिम सहभागी।
केहि दिन अगाडि सोही वडाको आयोजनामा अहिले उक्त तालीम सन्चालन भईरहेको छ।
कुनै जाति विशेष र पुरुषले मात्र बाजा बजाउनुपर्छ भन्ने पुरानो मान्यतालाई तोड्ने उद्देश्यका साथ महिलालाई बाजा बजाउने तालिम आयोजना गरिएको प्युठान नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष बिकास के सि ले बताए ।
अध्यक्ष के सि ले भने,‘दलित समुदाय आफैँमा पछाडि छ उनीहरुलाई सीप सिकाउने र संस्कार र संस्कृतिको संरक्षण गर्दै आत्मनिर्भर बनाउन महिलालाई बाजा बजाउने तालीम प्रदान गरिरहेका छौँ ।’
‘यस्ता नौमती बाजा,नेपाली पहिचान,नेपाली पहिरन लोप हुँदै गएको छ’,अध्यक्ष के सि ले भने ,‘यो पहिचानलाई जोगाउनुपर्छ, लोप हुन दिनुहुँदैन कला सस्कृतिको संरक्षण गराउनुपर्छ भन्ने उद्देश्यले हामीले तालिम सन्चालन गरेका हौं।’
महिलाले समेत बाजा बजाउन थालेपछि अहिले स्थानीय उत्साहित छन् ।
अझ रमाइलो पक्ष त बाजा राम्रोसँग बजाउने भनी परिचित दमाइ जातिको यो गाउँमै बसोबास छैन।उनीहरूको अनुपस्थितिमा अन्य समुदायका मानिसले यो बाजा बजाउने गरेका छन्।यस्तो बाजा बजाउन दलित समुदायकै मात्र आवश्यकता पर्छ भन्ने मान्यतालाई तोड्दै बाजाको संरक्षणतर्फ लागेको स्थानीय बताउँछन् ।
३ जना पुरुष र १० जना दलित समुदायका महिलाले यो तालीम लिइरहेको तलिम सहभागी शान्ता नेपालीले बताइन्।
५५ वर्षीया शुन्तली नेपाली ज्येष्ठ सदस्य हुन्। ‘पहिले बाजा समात्दा पनि जात जान्छ भन्थे’, नेपालीले भनिन्,‘यी जातपातका कुरा नआउन् भनेर पनि बाजा बजाएका हौं। कसैलाई पनि छुवाछुत नहोस्,बाजा बजाउँदैमा अलग्गै हुनुपर्छ भन्ने नहोस्। सबै मानिस समान हुन्।’

प्रतिक्रिया राख्नुहोस्